काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने तथा स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले पठनपाठन तथा अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ । खासगरी विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्छ ।”
प्रधानमन्त्री प्रचण्डले अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन स्रोतको सही सदुपयोग नहुने स्पष्ट पारे । विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धानसम्बन्धी कार्य विश्वविद्यालयबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने उनको भनाइ थियो ।
काठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
काठमाडौँ विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिण एसियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गरेको उल्लेख गर्दै उनले गुणस्तरीय, प्राविधिक र अत्याधुनिक उच्चशिक्षा युगको विश्वव्यापी आवश्यकता भएको बताए ।
बर्सेनि हजारौँ विद्यार्थी नेपालबाट विदेशिनुको कारण सिर्जनशील मस्तिष्क, युवा ऊर्जा र अर्बौँ रुपैयाँ मुलुकबाट बाहिरिइरहेको सन्दर्भमा मुलुकभित्रै उच्चशिक्षाको गुणस्तर एवम शिक्षापछिको सम्मानयुक्त जीवनयापन गर्न सम्भव रोजगारी सिर्जना सबैका लागि टड्कारो आवश्यकता र चुनौती भएको प्रधानमन्त्री दाहालले जिकिर गरे ।
काठमाडौँ विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिमध्ये १३ प्रतिशतभन्दा बढी दीक्षित ५५ भन्दा बढी मुलुकका विदेशी नागरिक भएको जानकारी पाउँदा नेपाललाई दक्षिण एसिया क्षेत्रकै आकर्षक शैक्षिक ‘हब’ बनाउने सम्भावना केवल कल्पना मात्र नभएर वास्तविकतामा रूपान्तरण गर्न सकिने वस्तुगत यथार्थ भएको उनले बताए ।
सो विश्वविद्यालयले अनुसन्धान गरिरहेको भविष्यको इन्धनका रूपमा पहिचान गरिएको ग्रीन हाइड्रोजनको उत्पादन, आर्टिफिसिअल इन्टेलिजेन्स, आधुनिक प्रविधिमा आधारित कृषि विज्ञान, हिमालय क्षेत्रको पर्यावरणको अध्ययनमा समर्पित ग्लेसियोलोजी, चिकित्सा र प्रविधिलाई समायोजन गर्ने हेल्थ–इन्फम्र्याटिक्सलगायत विषयको अध्ययन–अध्यापन, खोज–अनुसन्धान एवम् प्रकाशन–प्रचारले मुलुकको आर्थिक विकास र सामाजिक पुँजी निर्माणमा जोड दिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।





















प्रतिक्रिया