काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिनाथको मन्दिरमा जलहरी राख्ने क्रममा सुन गायब पारेको भनेर आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन् । सुन हराएको प्रमाणित भएमा आफू मृत्युदण्डको साजय भोग्न पनि तयार रहेको बताए ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सदस्यसचिव थापाले यस विषयमा न्याय माग्न आत्महत्या नै गर्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको बताए ।
अदालतबाट सुनको जलहरी हाल्न हुँदैन भनेर प्रदेश सांसद नरोतम वैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको सदस्यसचिव थापाले बताए । उक्त १० किलो सुन पशुपतिनाथ मन्दिरमा नै रहेको उनले दाबी गरे ।
कुनै तथ्यबिना आफूलाई जलहरी प्रकरणमा जोडेर आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए । उनले यथार्थ नबुझि आफूलाई सुन चोर भनेर टिप्पणी गरएको भन्दै यस प्रकरणमा आफू निकै पीडित भएको बताए ।
- याे पनि…
पशुपति विकास कोष भन्छ– ‘जलहरी बनाउँदा सुन हराएको छैन, सुरक्षा दिएर राखिएको छ’




















प्रतिक्रिया