काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका समाजवादी कार्यदिशा बोकेका दलबिच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, संविधानको रक्षा गर्दै थप उपलब्धि र परिवर्तनका लागि कम्युनिस्ट पार्टीहरूको समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा छ । दलहरूबिच तत्काल एकता हुन नसकेपछि मोर्चा घोषणा गर्न लागिएको हो ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहने टुङ्गो लागिसकेको छ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव गौतम तथा अन्य पार्टीसँग छलफल भइरहेको जानकारी दिए । उनले भने, “सम्भवतः शुक्रबार घोषणा गर्ने तयारी हुँदै छ । चार वटा दलबिच सहमति भइसकेको छ । शुक्रबार बिहान केही नेताबिच छलफल भएपछि टुङ्गो लाग्ने छ ।”
समाजवादी कार्यदिशा बोकेका पार्टीबिच तत्कालका लागि सरकारमा रहेका तीन दल र सरकारबाहिरका दुई दलसहित पाँच दलीय समाजवादी मोर्चा बन्ने छ । एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले अन्य दललाई पनि मोर्चामा सहभागी गराउँदै जाने रणनीतिका साथ घोषणा गर्न लागिएको बताउनुभयो ।
उनले भने , “समाजवादी कार्यदिशा बोकेका पार्टीबिच समाजवादी मोर्चा बनाएर जाने सहमति र सहकार्यअनुरूप समाजवादी मोर्चाको घोषणा हुँदै छ । घोषणापत्रलगायतका विषयमा सहमत भई सबै कुरा मिल्यो भने शुक्रबार घोषणा गर्ने छौँ ।” उनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत अन्य पार्टीलाई पनि मोर्चामा समेट्दै लगिने बताए ।
मोर्चा निर्माणको कार्यदलले समाजवादी मोर्चाको घोषणापत्र तयार गरेको छ । शीर्ष नेताबाट अन्तिम स्वरूप प्रदान गर्ने कार्य बाँकी छ । समाजवादी मोर्चाका लागि माओवादी केन्द्रका उपाध्यक्ष महरा, जसपाका नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका उपाध्यक्ष हमाललगायतले दस्ताबेज तयार गरेका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।





















प्रतिक्रिया