काठमाडाैं । काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।
महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै पोखरा महानगरपालिकाले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनै पनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएकाे हाे।
पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा रहेका सिनेमा घरहरु बाराही चलचित्र मन्दिर क र ख, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई उक्त पत्र पठाएका छन् ।
महानगरबाट पत्र प्राप्त भएपछि सोमबार चलचित्र आदिपुरुषको कुनै पनि शो नराखेको सिनेमा घरहरुले बताएका छन् । काठमाडौं महानगरपालिकाका हलहरूमा पनि आजदेखि भारतीय सिनेमा नचलाउन मेयर बालेनले निर्देशन दिइसकेका छन्।

यसअघि काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने बताइसकेकाे छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र(बालेन) शाहको सचिवालयले जानकारी दिएको छ ।
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘महानगरको एक्सनमा सरकारले सहयोग र समन्वय गर्ने सम्भावना कम छ । महानगरसँग भएको सुरक्षा निकाय भनेको नगर प्रहरी हो’, सचिवालयले भन्यो- ‘त्यसलाई नै परिचालन गरेर हिन्दी फिल्म बन्द गराउने छौं ।’ काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।
आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरेका छन् ।





















प्रतिक्रिया