Logo

अर्थ

भोलिबाट सर्बसाधारणका लागि खुला गरिँदै ‘स्काइ वाक टावर’, प्रवेश शुल्कै एक हजार



काठमाडौं । व्यापारिक समूहले कमलादीमा निर्माण निर्माण गरेको स्काई वाक टावर भोलिबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । तर प्रवेश शुल्क भने एक हजार लाग्नेछ ।

टावरमा चढेर हेर्नको लागि मात्रै एक हजार रुपैयाँ लाग्ने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले २०७३ मंसिरबाट निर्माण सुरु गरेको स्काई वाक टावर कोरोना भाइरस महामारीका कारण ढिलो गरी यसै वर्ष पूर्ण रुपमा निर्माण सम्पन्न भएको छ। सम्पन्न भएसँगै स्काई वाक टावर भोलिबाट सर्वसाधारणका लागि खुला गरिने भएको हो ।

त्यहाँभित्र किनमेल तथा चिया नास्ताको फेरि छुट्टै पैसा तिर्नुपर्ने छ । सामान्य आम्दानी भएका नागरिकका लागि भने उक्त शुल्क पनि महंगो हुने निश्चित छ। तर व्यवसायीहरु भने एक हजार रुपैयाँ सस्तो मूल्य भएको बताउँछन् ।

वल्ड नेपाल कम्पनीले साढे १३ रोपनी जग्गामा ७८ दशमलव ५ मिटर उचाइको टावर बनाएको हो । उक्त टावर निर्माणका लागि जग्गा २८ वर्षको लागि भाडामा लिएको कम्पनीले जनाएको छ । कम्पनीले १ अर्ब १३ करोडमा निर्माणको सम्झौता गरेको भए पनि टावर निर्माणमा २ अर्ब लगानी लागेको बताइएको छ ।

No description available.

स्काई टावरको लिफ्ट चढेपछि ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र लिफ्टमा रोकिइनेछ । उक्त टावरमा विभिन्न कोठा, मिटिङ हलसमेत रहेको छ । त्यस्तै टावर भएको ठाउँमा रेष्टुरेन्टसमेत छ । टावरको सबैभन्दा माथि टपमा स्काई वाक छ जहाँ हिँड्दा आकाशमा हिँडेजस्तो अनुभव हुनेछ ।

उक्त टावर चढ्नका लागि सर्वसाधारणले एक हजार रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । टावरभित्र राखिने लिफ्ट जमिन सतहदेखि सिधै ६८ मिटरमा माथि पुगेर रोकिनेछ, जहाँ सिसाको हिँड्ने बाटो बनाइएको छ । हिँड्ने ठाउँभन्दा तल्लो तहमा केही कोठाहरु र मिटिङ हल आदि निर्माण भएका छन् । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सन कम्पनीले गरेको हो ।

कम्पनीका अध्यक्ष आकर्षण पोखरेलका अनुसार टावरको माथिल्लो भागमा ओपन रेस्टुरेन्टसहित नाइट क्लब पनि पनि सञ्चालन गर्ने तयारी कम्पनीको छ । भुईँ तल्लाको भागमा भने कफी तथा सोभिनियर सपहरु रहेका छन् । टावरमा इभेन्टहरु पनि गर्न सकिने पोखरेलले बताए । टावरमा जानेहरुको सुरक्षा जाँच हुनेछ ।

टावरमा अण्डरग्राण्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिने पोखरेलले बताए । टावर नयाँ पर्यटकको लागि नयाँ र अनौठो अनुभव हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ६ : २२ बजे

789
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।