Logo

राजनीति

लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात हुन्छ : शेखर कोइराला



काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताएका छन् । लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले लोकरिझ्याइँका लागि लोकप्रिय कुरा गरेर नेताहरू स्थापित हुन खोज्दा राष्ट्र र राष्ट्रियतालाई अहित हुने बताए ।

“लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घाटा हुन्छ । राष्ट्रको हितका लागि सबैको एउटै सोच र विचार भएमात्रै राष्ट्रियता सबल हुन्छ । सङ्कीर्णताले राष्ट्रियता प्रवर्द्धन हुन सक्दैन ।” नेता कोइरालाले भने, “लोकतन्त्रमा विश्वास गर्नेहरूले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ । अहिले दण्डहीनता चरम सीमामा पुगिसकेको छ । जुनसुकै मुद्दा भए पनि अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक बनाएर छुट दिँदा अन्तर्राष्ट्रिय समुदायमा हाम्रो विश्वास घटेर जाँदैछ । सुशासनका कुरामा हामीले ध्यान दिन सकेनौँ भने अन्तर्राष्ट्रिय समुदाय र दुवै छिमेकीले हामीलाई विश्वास गर्दैनन् ।”

अहिले शिक्षाका नाममा बौद्धिक व्यक्तित्व बाहिरिँदै गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यहीँ शिक्षा हासिल गर्दै युवालाई यहीँ उद्यम गर्ने वातावरण बनाउनुपर्छ भन्ने धारणा व्यक्त गरे । राजनीति विश्लेषक तथा पूर्वसांसद लालबावु यादवले २०६२/६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टाएको र राष्ट्रियता कमजोर भएको धारणा राखे । “विसं २०६२/६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टायो, राष्ट्रियता कमजोर भयो । राष्ट्रियता कमजोर भएको यस्तो संवेदनशील बेलामा पुस्तक प्रकाशन गरेर चुनौतीपूर्ण काम भएको छ”, पूर्वसांसद यादवले भने, “अहिले लोकतन्त्रमा दोहोरो नीति चलिरहेको छ । अल्पमतले बहुमतलाई शासन गरिरहेको छ ।”

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार २१:५४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।