Logo

अफगानिस्तानमा आत्मघाती विस्फोट, १८ जनाको मृत्यु



अफगानिस्तान एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट गराइएकाे छ । साे क्रममा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएकाे छ ।

बिबिसी हिन्दीका अनुसार उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि विभिन्न विषयको अध्यापन गराउने नीति शैक्षिक संस्थानमा बिस्फोट भएको हो । शनिबार अबेर अपराहन्न भएकाे साे बिस्फोटनमा परी दर्जनौँ मानिस घाइते र मृतककाे संख्या अझै बढ्न सक्ने बताइएकाे छ ।

शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा विस्फाेट भएकाे हाे, जहाँ सयौँ विद्यार्थी पढ्ने गरेका थिए । आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ । तर सरकारी अधिकारीहरूले भने यसकाे पुष्टि गरेका छैनन् ।

त्यहाँकाे गृहमन्त्रालयका प्रवक्ता तारिक अरियनले एक विज्ञप्तिमा भने, ‘एक आत्मघाती बमवर्षकले भवनभित्र पस्न खोज्यो, जब सुरक्षाकर्मीहरूले उनलाई चिने, उनले ढोकामा नै विस्फाेटन गराइदियाे ।’

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई बताएका छन् कि मारिएकाहरूमध्ये अधिकांश विद्यार्थीहरू थिए, जो बाहिरबाट भवनभित्र छिर्न प्रतीक्षा गरिरहेका थिए । उनले भने, ‘म त्यहाँबाट करिब सय मिटर टाढा उभिरहेको थिएँ, त्यहीबेला एउटा ठूलो विस्फोट भयो ।’

अफगानिस्तानमा पछिल्लाे केही सातायता हिंसात्मक घटनाहरूमा वृद्धि भएकाे छ। धेरैजसो आक्रमण तालिवानले गरेका भए पनि यस घटनामा भने संलग्नता नरहेकाे उसले बताएकाे छ । सरकार र तालिबानबीच कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ, जसमा यी हिंसाकाे प्रभाव पर्न सक्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आईतवार १४:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।