Logo

पत्रपत्रिका

सुन तस्करी प्रकरण : १२ दिनसम्म पनि भएन मुख्य मालिकको अत्तोपत्तो



काठमाडौं । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन ।

हङकङको क्याथे प्यासिफिकको जहाजबाट ल्याइएको सो सुन भन्सार पास गराएर बाहिर लैजान लाग्दा साउन २ गते राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो ।

उच्च स्रोतका अनुसार सो तस्करीमा विशेषगरी चीनबाट कारोबार गर्ने, नेपालमा सुन भित्र्याउने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने तीनवटा मुख्य समूहको संलग्नता रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ । तीनवटै समूहका सहयोगी व्यक्तिहरू पक्राउ परे पनि मुख्य योजनाकरका बारेमा भने अनुसन्धान अधिकृतहरूले हालसम्म कुनै भेउ पाउन नसकेको स्रोतको दाबी छ । यस काण्डको अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभाग र सरोकारवाला सबै सरकारी निकाय बेखबर छन् ।

यद्यपि, छानबिनलाई तीव्रता दिइएकाले मुख्य योजनाकार पत्ता लाग्ने विभागका अधिकारीहरूको दाबी छ। तर, सुन तस्करी प्रकरणको घटना र त्यसअघिको अवस्थालाई समेत विश्लेषण गर्दा विभिन्न खाले प्रश्नहरू सिर्जना हुन पुगेका छन् । अनुसन्धान अधिकृतहरूकै विश्लेषणमा पनि सुन तस्करी निकै योजनाबद्ध रूपमा भएको देखिएको छ ।

विभागका अनुसन्धान अधिकृतहरूले यसअघि पनि ठुलो परिमाणमा सुन यसरी नै नेपाल भित्रिएको र सो सुन भारततर्फ गएको सुराक फेला पारिसकेको बताइएको छ । विभागका एक अनुसन्धान अधिकृतले भने–‘विभिन्न ठाउँमा छापा मार्दा देखिएका खोक्रा ब्रेक सु र अन्य यस्तै चीजहरूका कारण पछिल्ला दिनहरूमा ठुलो परिमाणमा सुन भित्रिएको र एयरपोर्ट हुँदै त्यो ठुलो परिमाणको सुन भारततर्फ गएको सहजै अनुमान लगाउन सकिन्छ । उनले त्यति ठूलो परिमाणको सुन नेपालको एयरपोर्ट हुँदै भारतको सीमासम्म पुग्दा पनि यसको बारेमा नेपालको प्रहरी प्रशासन तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले कुनै पत्तो नपाउनु ठुलो चिन्ताको विषय भएको टिप्पणी पनि गरे ।

स्रोतका अनुसार केही महिनादेखि ब्रेक सुलगायत विभिन्न फलामे तथा अन्य धातु र सामानभित्र लुकाएर सुन ल्याउने र त्यसलाई नेपालको विमानस्थल हुँदै भारतमा लगेर तस्करी गर्ने क्रम जारी थियो । त्यस क्रममा ठुलो परिमाणको सुन तस्करी भएको र तस्कर समूहले माथिका उपाय लगाएर अरर्बौं मूल्यको सुन भारतमा लगेर बिक्री वितरण गरिसकेको विभागका अधिकृतहरूको आशंका छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ०८:२९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।