Logo

प्रमुख समाचार

त्रिविका प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडेपछि…..



काठमाडौं । प्राध्यापकहरु काममा नियमित नआएपछि विद्युतीय हाजिरीकाे व्यवस्था गरेकाे त्रिविले पछिल्लाे समय प्राध्यापकहरु हाजिरी नै बाेकेर हिँड्ने गरेकाे खुलेकाे छ ।

दैनिक आउनुपर्ने भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन प्रयाेगलाई निरुत्साहित पार्न यस्ताे गरिएकाे बुझिएकाे हाे । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडेको खुलाएका हुन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा उनले विद्युतीय मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरे ।

उपकुलपति बास्कोटाले भने, “हाम्रा त शिक्षकहरू पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर गर्‍यो, तलब बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरूले बोकेर हिँडे । पुलिसलाई ल कारबाही गर भन्दाखेरी पुलिसले निवेदन नलिने,” उनले भने ।

उपकुलपति बास्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माईन्युट समेत संगठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले विश्वविद्यालय राजनीतिक भागबन्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटकपटक दोहोर्‍याए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १६:२९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।