धनगढी । नागरिक उन्मुक्ति पार्टीभित्र विवाद बढ्दै गएको छ । पार्टीका विभिन्न पदमा रहेका नेताहरु अहिले पार्टीभित्रका नेतृत्वका कारण पदबाटै राजीनामा दिनेसम्म घोषणा गर्न लागेका हुन् ।
उन्मुक्तिका उपाध्यक्षसमेत रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरी (जोगेथ्वाअ) लाई मन्त्री नबनाइएपछि पार्टीभित्रका नेताहरुमा रहेको असन्तुष्टिहरु धमाधम देखिन थालेका छन् । ‘पार्टीले विधि, वरियता कुनै नहेरेर सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार गरेको छ’ नेता लक्ष्मण किशोर भन्छन् –‘वरियता, पार्टीभित्रको योग्दान केही नहेरेर कसैलाई मन्त्री बनाइन्छ भने उपाध्यक्ष पद लिएर म किन बसिराख्नु । पद उपाध्यक्ष भन्ने अनि व्यवहारचै पुछारमा फ्क्याँक्ने जस्तो काम भयो ।’
उनले आफनो निर्वाचन क्षेत्र पाँच वर्ष प्रतिनिधि सभाविहिन भएको स्मरण गर्दै भने –‘पाँच वर्ष सांसद विहिन निर्वाचन क्षेत्रको समग्र विकास, त्यहाँका जनताको न्यायका लागि अहिले क्षतिपूर्तिसहित मन्त्री दिइनुपर्ने थियो । जुन ठाउँबाट पार्टीको उब्जनी भयो । त्यही ठाउँलाई पार्टीले अन्याय गरेको छ ।’
उनले पार्टीका अध्यक्ष र संरक्षकको एकल निर्णय गरिएको खुल्ला रुपमा भन्न सकेनन् । उनले भने –‘केन्द्रिय समितिको बैठक बसेको छैन । मन्त्रीबारे कसैसंग छलफल भएको छैन । अनि कसरी केन्द्रिय समितिबाट मन्त्रीको टुङ्गो लाग्यो ।’
उन्मुक्ति भित्र टीकापुर क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिलाई मन्त्री बनाउनुपर्ने बहस थियो । उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले यो कुरालाई ध्यान नदिएको आरोप छ ।




















प्रतिक्रिया