काठमाडौं । युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा तीन जना नेपाली गत साउन २८ गते अपहरणमा परेका थिए ।
पक्राउ पर्नेमा धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेल्बासे र पर्वतका दिलबहादुर थापा रहेका छन् ।
मोरङ रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगाका कृष्ण कार्की र काभ्रे नमोबुद्धका राजन सत्याललाई अपहरण गरेर १५ हजार युरो फिरौती मागिएको थियो। उनीहरू सिजनल भिसामा सर्विया गएका थिए। त्यहाँको काम चित्त नबुझेपछि लुकिछिपी ग्रिस जान लागेका थिए ।
पीडित व्यक्तिका परिवारबाट दिइएको उजुरीका आधारमा अनुसन्धान गर्दा सीआईबीले ग्रीसका अपहरणकारीका एजेन्टहरु नेपालमा रहेको पत्ता लगायो। साथै ग्रीसमा अपहरणमा परेका व्यक्तिहरुको समेत सीआईबीले उद्धार गर्यो ।
ग्रीसमा नेपाली अपहरण गरी नेपालमा फिरौती माग गर्ने गिरोहका ४ जनालाई भदौ २ गते काठमाडौंबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार साउन ३२ गते उनीहरूका आफन्तले ब्युरोमा निवेदन दिएका थिए ।
अपहरणमा परेकाहरूका आफन्तले भदौ २ गते काठमाडौंमा २१ लाख ७५ हजार रुपैयाँ फिरौती बुझाएका थिए । फिरौती बुझेपछि नेपाली समयअनुसार राति ११ बजे अपहरणमा परेकाहरूलाई मुक्त गरिएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुमध्ये केही काठमाडौंको गौरीघाटमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरुको कोठामा छापा मारी फिरौती बापत उठाएको २१ लाख ७५ हजार रुपैयाँ समेत बरामद भएको सीआईबीले जानकारी दिएको छ ।
पक्राउ परेका ४ जनालाई नै अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया