Logo

प्रमुख समाचार

सुन काण्डमा मुछिएपछि शक्तिकेन्द्रमा तत्कालीन महानिर्देशक अधिकारीकाे हारगुहार



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत छानबिन र अनुसन्धान थालेको छ ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् गरिएको ९ किलो सुनतस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको हो ।

गत शुक्रबार बसेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पूर्ण बैठकले सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीलाई अनुसन्धान घेरामा ल्याउने र उनीहरू सबैको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियार स्रोतले अध्यागमन विभागका महानिर्देशक अधिकारीसहित सुन काण्डमा मुछिएका सबैलाई छानबिनको घेरामा ल्याउने निर्णय गरेको हो ।

६० किलो सुनतस्करी प्रकरणका मुख्य योजनाकार मानिएका दावा छिरिङसँग गहिरो कनेक्सन देखिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी विभागबाट हटाइएका छन् । उनलाई हाल गृह मन्त्रालयले अतिरिक्त समूहमा राखेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अधिकारी र दावाबीच लामो समयदेखि विच्याटमा विभिन्न धन्दाका बारेमा कुराकानी हुने गरेको, अधिकारीले दावालाई सहयोग गरेको र सोबापत दावाले ठूलै आर्थिक सहयोग गरेको विषय फेला पारिसकेको छ । अतः अधिकारी सीआईबीको गम्भीर छानबिनमा समेत परिसकेका छन् ।

अख्तियार स्रोतका अनुसार सुनकाण्डमा मुछिएका तथा तस्करहरूसँग कनेक्सन भएका कर्मचारीहरूले अकुत सम्पत्ति आर्जन गरेका प्रारम्भिक सूचनाहरू प्राप्त भइसकेका छन् । अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीले दावासँग मिलेर विभिन्न धन्दाहरू सञ्चालन गर्ने गरेको र सोबाट आएको ठूलो परिमाणको रकमले नेपाल र भारतका विभिन्न होटलहरूमा लगानी गरेको दाबी स्रोतको छ । पोखरा निवासी अधिकारीको पोखराका चर्चित र ठूला होटलहरूमा बढी लगानी रहेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिका प्रकाशित छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ०९:३३   :  बजे

858
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।