काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा अझै अनुसन्धानको दायराबाहिर छन् ।
जबकि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत गरेको छैन ।
०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको अनुसन्धानबाट खुलिसकेको छ ।
भेप छुटाउनकै लागि चिनियाँ तस्कर वाङसँग महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेको तथ्य पनि पुष्टि भइसकेको छ । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई पनि महराले सम्पर्क गरी ‘राहुल आउँछ, हेर्दिनुहोला’ भनेको स्रोत बताउँछ । राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ ।
हाल फरार असिन भनिने अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेका छन् । यी सबैसहित महराका बाबुछोराले सुन तस्कर र यसको नेटवर्कमा रहेका गिरोहसँग समेत २ सय ५६ पटक संवाद गरेको प्राविधिक अनुसन्धानले पनि पुष्टि गरिसकेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन प्रकरण र महराका बाबुछोराको कनेक्सन खुलाइसकेको छ । सुन भएका भेप जफत गरेर भन्सारले गोदाममा राखेकामा पछि त्यहीँबाट चोरी भएको थियो । भन्सारका कर्मचारी, एजेन्टसहितको सेटिङमा सुन चोरी भएको पाइएपछि सीआईबीमार्फत यसको अनुसन्धान भएकामा चोरीमा संलग्न ९ जनामाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।





















प्रतिक्रिया