काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।
उनीहरुले सार्वजनिक गरेको विरोधका कार्यक्रमबारे विमानस्थल कार्यालयसहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी दिएका छन् । कर्मचारीले संयुक्त रुपमा २५ र २६ भदौ कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
२७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी उनीहरुले पेश गरेको मागपत्रमा छ । ‘यसबाट हुन सक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्नेछ,’ मागपत्रमा भनिएको छ,‘यस सम्वन्धमा बिरोधका थप कार्यक्रमहरु क्रमशः प्रकाशन गरिनेछ ।’
गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक शू’ जाँचपास भएपनि विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका छन् ।
कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो छ । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको चेतावनी यसअघि नै उनीहरुले दिइसकेका छन् । उनीहरुले सामूहिक सरुवाको माग समेत गर्दै निवेदन दिएका थिए ।
प्रतिक्रिया