काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलबहादुर मल्लविरुद्ध भ्रष्टाचार आरोपमा उजुरी परेको छ । डिएसपी मल्ले छोटो समयमा अस्वभाविक सम्पत्ति आर्जन गरेकोले छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही महिनाअघि उजुरी परेको हो ।
मल्लले पदीय मर्यादाविपरीत सर्वसाधारण नागरिकलाई धाकधम्की दिएर पदीय मर्यादाको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको उजुरीकर्ताको दाबी छ । ‘…समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकको जीउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको संगठनभित्र कार्य गर्ने हरेक प्रहरी स्वच्छ छविको निष्कलंकित व्यक्ति हुनु पर्दछ । अन्यथा प्रहरीमाथिको नागरिकको विश्वास घटेर जाने मात्र नभई समाजमा अराजकता पैदा हुने कुरामा दुविधा रहँदैन । तर त्यही प्रहरी संगठनभित्र भएका केही खराब आचरणका कारण् सर्वसधारण नागरिकले असह्य पीडा भोग्नु परेको तथ्यलाई नकार्न सकिँदैन ।’, अख्तियारमा दायर उजुरीमा भनिएको छ, ‘त्यस्तै खराब आचरणले प्रहरी संगठनको दुरुपयोग गरी पदीय मर्यादा विपरीत सर्वसाधारण नागरिकलाई धाकधम्की दिएर पदीय मर्यादाको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेका अपराध अनुसन्धान ब्युरो टेकुमा कार्यरत डिएसपी दिलबाहदुर मल्लले सर्वसधारण नागरिकलाई अकल्पनीय दुख दिई रहेका छन् ।’
एउटा सामान्य प्रहरी कर्मचारी भएर पनि मल्लले देशको संघीय राजधानीजस्तो ठाउँमा आलिसान महल बनाउनुका साथै विभिन्न ठाउँमा जग्गाजमिनसमेत जोडेको दाबी उजुरीकर्ताको छ । साथै उनले आफन्तको नाममा समेत सम्पत्ति जोडेको आरोप छ । उजुरीकर्ताका अनुसार डिएसपी मल्लले थुनामा रहेकाहरूसँग मुद्दा मिलाइदिने भन्दै घुस माग्ने र नदिए झुठा मुद्दामा फसाउने गरेका छन् । अख्तियारमा दायर उजुरीमा भनिएको छ, ‘एउटा सामान्य प्रहरी कर्मचारीले बूढानीलकण्ठस्थित पासिकोटमा आलिसान बंगला मात्र बनाएका छैनन्, दर्जनौं ठाउँमा घरजग्गा जाडेका छन् । मुद्दा मिलाइदिने प्रलोभनमा थुनामा रहेका र बाहिर रहेका सर्वासधारणसँग घुस माग्ने नदिए झुठा मुद्दामा फसाइदिने गर्नाले जनमानसमा त्रास उत्पन्न भएको छ । यस्तै कामबाट डिएसपी मल्लले आफ्ना नाउँमा मात्र नभएर थुप्रै आफन्तका नाममा दर्जनौं ठाउँमा जग्गाजमिन जोडेका छन् ।’
डिएसपी मल्लको कार्यशैली समयमै नियन्त्रण नगर्ने हो भने सर्वसाधारण नागरिकले अकल्पनीय दुःख र हैरानी पाउने मात्र नभई सयौं नागरिक घरबारविहीन अवस्थाम पुग्ने उजुरीमा उल्लेख छ ।
स्रोतका अनुसार डिएपी मल्लको काठमाडौंको बूढानीलकण्ठ पासिकोटमा २ रोपनी जग्गामा फैलिएको आलिसान बंगला छ । यसैगरी सिद्धार्थ कोलनी जाने बाटोमा श्रीमतीको नाममा आठ आना जग्गा छ । त्यसबाहेक अन्य आफन्तका नाममा पनि विभिन्न ठाउँमा जग्गाजमिन रहेका अनलाइनपाना स्रोतको दाबी छ । डिएसपी मल्लका जेठानको नाममा पनि जग्गा रहेको बुझिएको छ । उनका जेठान इन्स्पेक्टर अमृत बस्नेत हुन् ।

डिएसपी मल्लले शिवशिखर सहकारीका संचालक तथा शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष केदारनाथ शर्मा, तेक्वान्दो संघका अध्यक्ष काजीमान श्रेष्ठलगायतसँगको मिलेमतोमा ठगी गरेर अकुत सम्पत्ति कमाएको आरोप छ । शर्मासँग निकट सम्बन्ध रहेकै कारण मल्लले २१ लाख राशिको शिखर अर्गनाइजेसन अवार्ड पनि पाएका थिए ।
डिएसपी मल्लका सारथी तथा शिवशिखर सहकारीका अध्यक्ष शर्मा सर्वसाधारणका अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा यसअिघ नै प्रहरी अनुसन्धानमा तानिएका छन् । उनी दाेषी ठहर भई अहिले कारागारमा छन् ।

अवकास प्राप्त एआईजी हरी पाल र नक्कली सर्टिफकेट प्रकरणमा दोषी ठहर भएपछि राजीनामा दिएर कारबाहीबाट जोगिएका एसएसपी अशोक सिंहको साथ पनि डिएसपी मल्ललाई रहेको स्रोत बताउँछ ।
योग्यता र क्षमताका आधारमा खासै काविल नभएपनि संगठनमा उनले निकै रवाफ देखाउने गरेको प्रहरी कर्मचारीहरू नै बताउँछन् । उनले खास गरी ‘प्रधानमन्त्री कार्यालयमा मेरो काकाको छोरो रमेश मल्ल छन्, मलाई कसैले छुन सक्दैन’ भन्दै हिँड्ने गरेको स्रोत बताउँछ । डिएसपी मल्लले भन्ने गरेका रमेश मल्लले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको कमाण्ड सम्हालिरहेका छन् । अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका मल्ल यसअघि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएको बेला पनि स्वकीय सचिव थिए ।
विशेष स्रोतका अनुसार शर्माको सहकारीमा डिएसपी मल्ले अवैध रुपमा कमाएका अकुत सम्पत्ति राख्ने गरेका थिए । कतै रेकर्ड देखाउनु नपर्ने र चाहेको बेला झिक्न सकिने भएका कारण उनीहरुले शिवशिखर सहकारी रोजेको स्रोतको दाबी छ ।
यसबारे स्वयं डिएसपी मल्लसँग प्रतिक्रिया माग्दा आक्रोशित हुँदै समाचार प्रकाशन नगर्न धम्की दिए । ‘यसरी हावा तालमा कुरा नगर्नुस् । मेरो सम्पत्तिबारे हेर्नुस्, बुझ्नुस्, अध्ययन गर्नुस् मेरो प्रोपर्टीबारे । तर यसरी मान्छेलाई अनावश्यक टर्चर गर्ने काम नगर्नुस्’, उनले भने, ‘मलाई मोबाइलमा धेरै नसोध्नुस्, मेरो अफिस नै अपराध महाशाखा हो । आउनुस् कुरा गरौं ।’ समाचार नछाप्न धम्की दिँदै डिएपसपी मल्ले भने, ‘याद गर्नुहोला ! छाप्नुभयो भने…विचार गर्नु होला है !’, उनले भने, ‘अनावश्यक कुरामा दुख दिन लाग्नुभयो भने राम्रो हुँदैन ।’















प्रतिक्रिया