काठमाडौं । टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल भ्रष्टाचारी आराेपमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार अर्यालले करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको ठहर गरेकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिराम र सम्पत्ति जफत प्रयोजनका लागि अर्यालका श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो । उनले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो ।
अर्यालले २०३९ साल साउन १ गते राजपत्र अनंकित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा स्थायी नियुक्ति पाएर सरकारी सेवा सुरु गरेका थिए । उनी पछि नासु हुँदै शाखा अधिकृतमा बढुवा भएका थिए । उनले अधिकांश जग्गाहरु गाविस र नगरपालिकाअन्तर्गतका कार्यालयमा काम गर्दा जोडेको अख्तियारको दाबी थियो ।
सजाय भने निर्धारण भइसकेकाे छैन ।
















प्रतिक्रिया