सल्यान । जिल्लामा आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमा-छोरीको हत्या भएको पुष्टि भएको छ।
भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका-२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो। आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो। अनुसन्धानको क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो। उनीहरूको हत्या गरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको प्रहरी स्रोतले बतायो।
हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको जनाएकाे छ। पक्राउ परेका व्यक्तिले घटना स्वीकार गरिसकेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने तयारी गरेको छ। घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धानमा सहयोग गरिरहेको थियो। आमा-छोरी उक्त घरमा बस्दै आएका थिए। रेवतीका श्रीमान शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। श्रीमती र छोरीको हत्याको खबरपछि उनी घर फर्किएका छन्।
















प्रतिक्रिया