एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बताएको छ। उक्त घटनामा परेर अरू ५० जनाभन्दा बढी घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानिसहरू भेला भएको एउटा मस्जिदबाहिर ठूलो विस्फोटन भएको थियो। प्रहरीले मास्तुङ सहरमा धार्मिक भेलालाई लक्ष्य बनाएर आत्मघाती आक्रमण गरिएको आशङ्का गरेको छ। अधिकारीहरूले त्यहाँ सङ्कटकाल घोषणा गरेका छन्।
उक्त घटनामा हताहत भएका मानिसलाई दुईवटा स्थानीय अस्पतालमा लग्न थालिएको प्रहरीले जनाएको छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री सरफराज बुक्टीले उक्त आक्रमणलाई “निकै क्रूर कृत्य” को सङ्ज्ञा दिएका छन्।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा घाइतेलाई आपत्कालीन सेवाका कर्मचारी र स्थानीय मानिसहरूले उद्धार गरेको देखिन्छ। अहिलेसम्म कुनै समूहले पनि उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।















प्रतिक्रिया