Logo

प्रमुख समाचार

फिल्म ‘धुपौरे’मा पनि अभिनेता केसीविरुद्ध परेको थियो प्रहरीमा उजुरी



काठमाडौं । अभिनेता अनमोल केसीलाई यतिबेला आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

‘रावायण’ नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असोज ८ गते उजुरी दिएकी थिइन् । केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।

यस्तै विषयमा २०७६ सालमा पनि केसी विरुद्ध प्रहरीमा मुद्दा परेको थियो । कोरोना महामारीको लकडाउन हुनु केही दिनअघि अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगी मुद्दामा उजुरी पर्‍यो । टिमले २०७६ माघ–२६ गते नै प्रहरीमा उजुरी दिएको थियो । फिल्म ‘धुपौरे’ मा अनमोलले काम गर्ने सहमति गरे फिल्म बनाउने तयारी गरेपछि उनी निर्मातासँग टाढिएका थिए । निर्माताद्वय रुपेन्द्र खड्गी र जयन श्रेष्ठ त्यसपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीको कारण थियो– अनमोलले फिल्मका लागि गरेको सम्झौता तोड्नु ।

सम्झौता ६ महिना अघि भएको थियो । अनमोलले फिलिम्स नेपाल र जयन श्रेष्ठ इन्टरटेन्मेन्ट प्रालिसँग ४० लाख पारिश्रमिक लिनेगरी फिल्म ‘धुपौरे’मा साइन गरेका थिए । साइन गरेबापत ५ लाख रुपैयाँ ‘साइनिङ अमाउन्ट’ समेत लिएका थिए । फिल्मका लागि शरीर अनुकूल बनाउन निर्माताले उनको जिम र अभिनय कक्षामा समेत लगानी गरेको बताएका थिए । तर, सुटिङमा जानु २५ दिनअघि निर्मातासमेत चकित हुनेगरी ‘अनमोलले धुपौरे नगर्ने’ जानकारी निर्माताले पाए ।

फिल्मका निर्माताले पैसा ठगीको अरोप लगाउँदै प्रहरीमा उजुरी दिएको दुई हप्तापछि अभिनेता अनमोल केसीले आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै स्पष्टिकरण दिए । वानलाइन स्टोरीभन्दा स्क्रिप्ट भिन्न रहेको र स्क्रिप्टमा थप मेहेनत गर्न आफूले आग्रह गरे पनि निर्माता र निर्देशकले छायांकनमा जान कर गरेका कारण आफूले फिल्म गर्न नमानेको उनले स्टाटसमा लेखेका थिए । उनले निर्मातालाई ५ लाख रुपैयाँ जुनसुकै बेला फिर्ता गर्न तयार रहेको पनि बताएका थिए। पैसा ठगीको आरोप लगाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको भनाई थियो । तर निर्माताको स्पष्ट माग थियो– ‘कि सम्झौताअनुरूप फिल्ममा काम गर्नुपर्‍यो, कि फिल्मका लागि खर्च भएको करिब ३० लाख रकम क्षतिपूर्ति तिर्नुपर्‍यो ।’

यो विवाद मिलाउन महानगरीय प्रहरी परिसर काठमाडौंले चलचित्र निर्माता संघलाई पत्रचार गरेको थियो भने संघ फिल्मका निर्माता र अभिनेताबीच उत्पन्न विवाद मिलाउन सहजीकारण गरेको थियो ।

‘धुपौरे’ फिल्म साम्तेन भुटियाले निर्देशन गर्ने तयारी थियो । साम्तेन र अनमोलबीच निकट सम्बन्ध थियो, साम्तेन उनलाई लिएर फिल्म बनाउन चाहन्थे । त्यसैले ६ महिनाअघि उनी नेपाली फिल्मको डिजिटल अधिकार लिँदै आएको कम्पनी ओएसआर डिजिटलका सञ्चालक रुपेन्द्र खड्गी भेट्न पुगेका थिए ।

अनमोललाई लिएर फिल्म बनाउन लागेको र त्यसका लागि लगानीकर्ता खोजिरहेको बताएपछि खड्गीले अनमोल लिने भए लगानी गर्न तयार रहेको बताए । खड्गीका अनुसार अनमोलले यो फिल्म बुबाको अनुपस्थितिमा आफ्नै विवेक प्रयोग गरेर साइन गरे । सुटिङमा जाने भनिएको दिन भन्दा २५ दिन अगाडिको अनमोलले फिल्म नखेल्ने जानकारी लगानीकर्ताले पाए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १९:२५   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।