एजेन्सी । द स्वीडिश अक्याडमीले यो वर्ष साहित्यतर्फ नर्वेका लेखक यून फोसालाई नोबेल पुरस्कार दिने घोषणा गरेको छ।
पुरस्कार समितिका अनुसार “व्यक्त गर्न नसकिने कुरालाई उनले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले” फोसालाई साहित्यतर्फकाे नोबेल पुरस्कार दिइने भएको हो।
आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ। यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो। अब शुक्रबार शान्ति र सोमबार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने छ।
साहित्यमा नोबेल पुरस्कार यसअघि कसले पाएका थिए
सन् २०२२ मा फ्रान्सेली साहित्यकार एनी एर्नोले साहित्यतर्फको नोबेल पुरस्कार पाएकी थिइन्। एर्नोले “विषयका जडसम्म पुगेर, बिछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकाले” उक्त पुरस्कारबाट सम्मानित गरिएको जनाइएको थियो।
- सन् २०२१ः अब्दुलरजाक गुरनाहलाई “उनको औपनिवेशिक असर तथा संस्कृति र महादेशहरूबीचमा शरणार्थीको भाग्यबारे उनको सम्झौताबिनाको र प्रतिबद्ध प्रभावका लागि”
- सन् २०२०: अमेरिकी कवि लुइस ग्लकलाई “सुन्दर काव्यात्मक आवाज” का लागि
- सन् २०१९: अस्ट्रियाका नाटककार पिटर हान्कलाई सरल भाषामा मानव अनुभूतिको परिधिलाई उजागर गरेकाले
- सन् २०१८: पोल्यान्डका लेखक ओल्गा तोकाचुकलाई जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताका लागि
विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ ठाकुर तथा ह्यारोल्ड पिन्टर र युगीन ओनील लगायतका नाटककारले प्राप्त गरेका छन्।
सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्लान् कि नगर्लान् भन्ने अन्योल देखा परेको थियो। अन्ततः उनले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिएका थिए।
















प्रतिक्रिया