Logo

खेलकुद

विश्वकप क्रिकेट : श्रीलंकासँग हार्‍याे इंग्ल्याण्ड, सेमिफाइनल यात्रा कठिन



काठमाडौं । विश्वकप क्रिकेट २०२३ अन्तर्गत बिहीबारकाे खेलमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारेको छ । बिहीबार भारतको बैंग्लुरुमा इंग्ल्याण्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले मात्र २५.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

श्रीलंकाकाे सुरुवात भने खराब थियाे । २३ रन जोड्दा २ विकेट गुमाएको उसका लागि पथुम निसांका र सदिरा समरविक्रमा शानदार प्रदर्शन गर्दै जित दिलाए । त्यसक्रममा दुबैले तेस्रो विकेटका लागि अविजित १३७ रनको साझेदारी गरे । निसांका ७७ र समरविक्रमा ६५ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको थियो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो । बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । बेयरस्टो ३० र मालन २८ रनमा आउट भए ।

इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २/२ विकेट लिए ।जितसँगै श्रीलंका ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने इंग्ल्याण्ड २ अंकका साथ नवौं स्थानमा झरेको छ । समग्रमा चौथो हार बेहाेरेकाे इंग्ल्याण्डकाे सेमिफाइनल यात्रा कठिन बनेकाे छ ।

शीर्ष चारमा परेर सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न इंग्ल्याण्डले प्रतियोगितामा अपराजित रहेको भारतलाई समेत हराएर सबै खेल्न जित्नुपर्नेछ । किनकी शीर्ष टिम भारतको १० अंक छ भने चौथो स्थानमा रहेको अष्ट्रेलियाको ६ अंक छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार २०:१०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।