Logo

खेलकुद

श्रीलंकालाई ३ सय २ रनले हराउँदै भारत विश्वकपकाे सेमिफाइनलमा 



काठमाडाैं । श्रीलंकाविरुद्ध ३०२ रनकाे शानदार जित निकाल्दै घरेलु टोली भारत आईसीसी विश्वकप २०२३ काे सेमिफाइनलमा पुगेकाे छ । जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अल आउट भयो ।

विश्वकपमा श्रीलंकाको यो सबैभन्दा कम योगफल हो । श्रीलंका यसअघि विश्वकपमा सन् १९७५ मा वेस्टइन्डिजविरुद्ध ८६ रनमा अल आउट भएको थियो । भारतको विश्वकपमा यो हालसम्मकै ठूलो जित हो । भारतको यसअघि विश्वकपमा २००७ मा भारतले बर्मुडालाई २ सय ५७ रनले हराएको थियो ।

विश्वकपमा रनको हिसाबमा यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनले हराएको थियो । त्यो नै विश्वकपमा एक टोलीले हात पारेको सर्वाधिक ठूलो जित थियो ।

श्रीलंकाका तीव्र गतिका बलर कसुन रजिथा १७ बलमा २ चौकासहित सर्वाधिक १४ रनको योगदान दिए । श्रीलंकाका ओपनर पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समाराविक्रमा, दुशान हेमान्था र दुश्मन्था चामिरा शून्यमा आउट भए ।

कुशल मेन्डिस र चरिथ असलंका १–१ रनमा आउट भए । चरिथले २४ बलमा १ रन बनाएका थिए । एन्जिलो म्याथ्युज २५ बला १ चौकासहित १२ रनमा शामीको बलमा बोल्ड आउट भए । त्यो समय श्रीलंका १३.१ ओभरमा २९–८ को अवस्थामा थियो । महेश थिक्सेना २३ बलमा २ चौकासहित १२ रनमा नट आउट रहे ।

भारतका मोहम्मद शामीले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शिराजले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजा र जस्प्रित बुमराहले १-१ विकेट लिए ।

त्यसअघि वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो । भारतको जितमा तीन ब्याटरले अर्धशतक प्रहार गरे । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए । ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए ।

विराट कोहलीले ९४ बलमा ११ चौकासहित ८८ रन बनाए । श्रेयस ऐरले ५६ बलमा ३ चौका र ६ छक्कासहित ८२ रनको आक्रमक इनिङ खेलेका थिए । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए ।

गिल दिलशान मदुशानकाको बलमा एज लागेर कुशल मेन्डिसबाट क्याच आउट भए । दिलशानले इनिङको दोस्रो बलमै रोहित शर्मालाई चार रनमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि विराट कोहली र गिलले १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए ।

कोहली पनि दिलशानकै बलमा मिडअफमा क्याच आउट भए । श्रेयस ऐर पनि दिलशानकै बलमा महेश थिक्सेनाको बलमा क्याच आउट हुन पुगेका थिए । दिलशान मदुशानकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिएलिएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार २१:१९   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।