Logo

खेलकुद

काेहलीकाे उत्कृष्ट ब्याटिङ र जडेजाको घातक बलिङसामू दक्षिण अफ्रिका स्तब्ध



काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ मा शीर्ष क्रमका ब्याटर विराट काेहलीकाे उत्कृष्ट प्रदर्शन र स्पिनर रविन्द्र जडेजाको घातक बलिङसामू दक्षिण अफ्रिका स्तब्ध बनेकाे छ । काेहली र जडेजाकाे उत्कृष्ट प्रदर्शनमा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको सानदार जित हात पारेको छ । भारत लगातार आठौं जितका साथ विश्वकपमा शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको छ ।

जितका लागि ३२७ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका मार्को यानसनले सर्वाधिक १४ रन बनाए । क्विन्टन डि कक ५, टेम्बा बभुमा ११, रास्सी भान डर डुसेन १३, एडेन माक्ररम ९, हेनरिक क्लासेन १ र डेविड मिलर ११ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवले दुई/दुई  तथा मोहम्मद शिराजले एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२६ रन बनाएको थियो । भारतको जितमा विराट कोहली कीर्तिमानी शतक प्रहार गरे । उनले १२१ बलमा १० चौकासहित १०१ रनमा नट आउट रहे । कोहलीको ओडिआई करिअरको ४९ औं शतक हो । कोहलीले ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकरसँगको कीर्तिमान बराबर गरेका छन् ।

दक्षिण अफ्रिका क्रिकेट टीम

भारतलाई ओपनर रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्कासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनी कागिसो रबाडाको बलमा टेम्बा बभुमाबाट क्याच आउट भए । शुभमन गिल २४ बलमा ४ चौका र १ छक्कासहित २३ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए । श्रेयस ऐर ८७ बलमा ७ चौका र २ छक्कासहित ७७, सूर्यकुमार यादव २२ र लोकेश राहुल ८ रनमा आउट भए । रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा, तबरेश शाम्सी, लुंगी एनगिडी, मार्को यानसन र केशव महाराजले १/१ विकेट लिए ।

यस जितसँगै भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । भारतले अन्तिम खेल १२ नोभेम्बरमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार २१:४०   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।