काठमाडौं । मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दुमा एकै परिवारका चारजनाको सामूहिक हत्यामा दुईजना संलग्न रहेको पाइएको छ ।
हत्यामा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा मुगु प्रहरीले पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले र गोपाल बोहोरालाई पक्राउ गरेको छ ।
पिना गाउँपालिका वडा नम्बर–७ घर भएका ‘काले’ ले लुटपाट गर्ने उद्देश्यले पिना गाउँपालिका घर भएका गोपाल बोहरासँग मिलेर हत्या योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
गोपाल बोहरा अहिले छायाँनाथ रारा वडा नम्बर–६ स्थित मन्दुमा बस्दछन् । गोर्खराजले २०८० जेठ महिनामा मुगुको पिनामा गएर गोपाललाई भेटेर ‘श्रीदेवी बोहोरासँग ७–८ तोला सुन र नगद छ सो सुन र नगद लुट्नुपर्छ’ भनेर योजना बनाएका हुन् ।
कात्तिक ८ मा श्रीदेवी बोहरा माइतीबाट फर्केपछि आरोपितहरूले उनको ११ वर्षको छोरा मनोज, ७ वर्षीय छोरी अप्सरा र १ वर्षीय छोरा रहरको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।
हत्यापछि गोर्खराज र गोपालले श्रीदेवीले बोक्ने गरेको ओप्पो मोबाइल १ थान, कानमा लगाएको २.५ तोला सुनको रिङ र २५ ग्रामको सुनको तिलहरी लुटेर भागेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । हत्याराले श्रीदेवी र उनका पति दीपक बोहोराको नामको २ थान चेक, लालपुर्जा र ६ हजार नगद पनि लुटेका अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि गोपाल बोहोरा गाउँमै बसे । गोर्खराज शाही ठकुरी सुर्खेत हुँदै नेपालगञ्जतर्फ फरार भए ।
गोरख श्रीदेवीका माइतीतर्फका आफन्त हुन् भने गोपाल श्रीमानतर्फका आफन्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया