काठमाडौं । सरकारले एक सयदेखि ३ सय बेड सम्मका सरकारी अस्पताललाई नर्सिङ र पारामेडिक्स पढाउन अनुमति दिने भएकाे छ ।मंगलबार मन्त्रालयस्तरबाट उक्त प्रस्ताव अघि सार्दै पढाउन सक्ने अस्पतालहरूकाे राय मागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहन बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग यसबारे छलफल गरेकाे मन्त्री बस्नेतले बताएका छन्।आफ्नो याे कामले नेपालकाे मेडिकल शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने उनकाे दाबी छ।
यी हुन् बैठकले गरेका निर्णयहरू:–
१ सय देखि ३०० सम्म वेड सङ्ख्या भएका सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई प्यारामेडिक्स र नर्सिङ पठनपाठनको अनुमति दिने ।
३०० भन्दा माथी वेड सङ्ख्या भएका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई नर्सिङ, प्यारामेडिक्स र मेडिकल अधिकृत (MBBS) पठनपाठनको अनुमति दिने ।
आवश्यक जनशक्ति, भौतिक संरचना र मेडिकल उपकरणहरुको विद्यमान व्यवस्था अनुसार सम्बन्धित अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान हरुले कुन कुन विषयमा, कुन कुन तहमा, कति कति विद्यार्थी पठनपाठन गर्न/गराउन सक्ने कुराको जानकारी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनको निमित्त पत्राचार गर्ने ।
यी निर्णयहरुको कार्यान्वयनको पहलकदमीका निमित्त चिकित्सा शिक्षा आयोग लगायत सम्बन्धित निकायहरुमा पत्राचार भइसकेको पनि मन्त्री बस्तेले बताएका छन् । साथै, निर्णयहरूको कार्यन्वयन पश्चात् भरखरै सम्पन्न चिकित्सा शिक्षा आयोगको Medical Education Common Entrance Examination-२०२३ मा आवेदन दिने ३९ हजार ४ सय ७० जना मध्ये नेपालमा ७ हजार ६ सय ६ जना मात्र पढ्न पाउने जस्तो गम्भीर समस्या समाधान हुने पनि उनले उल्लेख गरेका छन् ।
जसबाट मेडिकल शिक्षामा लाखौं विद्यार्थीहरुले नेपालमै पठनपाठन गर्न पाउने, हजारौंको रोजगारी सृजना हुने, ठूलो संख्यामा युवा शक्ति विदेश पलायन रोक्ने, विदेशी विद्यार्थी नेपाल आई अध्ययन गर्नाले विदेशी रकम अर्बौ देशमा भित्रिने, नेपाली विद्यार्थी नेपालमै अध्ययन गर्नाले खर्बौ रकम मुलुकमै रहने जस्ता मुलुकलाई फाइदैफाइदा पुग्ने मन्त्री बस्नेतकाे दाबी छ ।




















प्रतिक्रिया