Logo

खेलकुद

आगामी टी–२० विश्वकपमा छनाेट हुने १९‍औं राष्ट्र बन्याे नामिबिया



काठमाडौं । नामिबिया सन् २०२४ मा हुने आईसीसी टी—२० विश्वकपमा छनोट भएको छ । नामिबिया आगामी टी—२० विश्वकपमा छनोट हुने १९औँ राष्ट्र बनेको हो । नामिबिया अफ्रिकी महादेशबाट टी—२० विश्वकपमा छानिएको हो ।

अफ्रिकी महादेशको अन्तिम चरणको छनोट प्रतियोगिता पनि नामिबियामै भइरहेको छ । आयोजक नामिबियाले मंगलबार खेलिएको खेलमा तान्जनियालाई ५८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।

जारी छनोट प्रतियोगितामा नामिबियाको यो लगातार पाँचौँ जित हो । नामिबियाले पाँच खेलबाट १० अंक बटुलेको छ । सात राष्ट्र सम्मिलित छनोट प्रतियोगिताको अंक तालिकामा नामिबिया पहिलो स्थानमा छ । नामिबियाले छनोट प्रतियोगितामा अझै एक खेल खेल्न बाँकी छ ।

अंक तालिकामा चार खेल खेलेको युगान्डा ६ अंकसहित दोस्रो र समान खेल खेलेको केन्या पनि ६ अंकसहित तेस्रो स्थानमा छन् । चार खेल खेलेको जिम्बाबे चार अंकसहित चौथो र समान खेल खेलेको नाइजेरिया तीन अंकसहित पाँचौँ स्थानमा छन् । रुवान्डा र तान्जनिया भने छनोट प्रतियोगिताबाटै बाहिरिने निश्चित भइसकेको छ ।

अब सन् २०२४ मा छनोट हुने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । यही प्रतियोगिताबाट विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो लाग्नेछ । नेपालसहित १८ राष्ट्र भने यसअघि नै छनोट भइसकेका छन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार २०:४४   :  बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।