Logo

विविध

२४ औं वाम्बुले राई भाषाको कविता प्रतियोगितामा रेनुका प्रथम



काठमाडौं । किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम भएकी छन् ।बुधबार वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा आयोजित उक्त प्रतियोगितामा उनी प्रथम भएकी हुन्।

संस्थाले प्रदेश–१ को नाम ‘कोशी’ नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) कविता शीर्षकमा कविता आह्वान गरेको थियो ।

वाम्रास सुनसरी जिल्ला कार्यसमितिको व्यवस्थापन रहेको प्रतियोगितामा ओखलढुंगा मानेभन्ज्याङ–३ का कवि कमल किराँती द्वितीय, मानेभन्ज्याङ–५ का कवि श्याम वाम्बुले राई तृतीय र धरान–५ का कवि जगतधन राई र विराटनगरकी कवि शुभकुमारी राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

विजयी कविलाई क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा दुई जनालाई २–२ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिता दर्जनभन्दा बढी कविले प्रतियोगी र देश–विदेशबाट अप्रतियोगीसहित ६५ कविका कविता वाचन गरेका थिए ।

समारोहका प्रमुख अतिथि भाषाशास्त्री प्राध्यापक टंकप्रसाद न्यौपाने, वाम्रास केन्द्रीय अध्यक्ष तथा पत्रकार गजुरधन राई, वाम्रास सुनसरी अध्यक्ष लाखमान राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्राध्यापक न्यौपानले मातृभाषामा कविता गोष्ठीमात्र पर्याप्त नहुने उल्लेख गरे । ‘कविता लेखेरमात्रै हुँदैन, कथा, निबन्ध, मुन्धुमका अनेक पक्षबारे विधागत लेखन प्रतियोगिता हुन जरुरी छ,’ भाषाशास्त्री न्यौपानेले भने, ‘वाम्बुले भाषा, साहित्य, संस्कृतिको उन्नतिमा औपचारिक पठनपाठनसमेत हुन आवश्यक छ ।’ साथै पछिल्लो समय अन्तरभाषी विवाह, सहरीकरणलगायत विभिन्न कारण भाषा, संस्कृति संकटतर्फ धकेलिएको उल्लेख गरे ।

वाम्रास केन्द्रीय अध्यक्ष राईले ऐतिहासिक किरातभूमिको अस्तित्व संरक्षणका निम्ति वाम्बुले साहित्यमा ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) शीर्षकमा कविता प्रतियोगिता आयोजना गरिएको बताए ।

‘हामीले यस्ता रचनात्मक कार्य गरेर थुप्रै कविहरू जन्मायौ,’ गाउँघरदेखि सहरसम्मै भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्दै आएको उल्लेख गर्दै अध्यक्ष राईले भने, ‘पुर्खाले आर्जेका कला, संस्कृतिको रुपान्तरणका निम्ति साहित्य गोष्ठी र प्रतियोगिता निरन्तर राखेका छौं ।’

२०५५ देखि वाम्बुले राई भाषाको कविता प्रतियोगिता ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा भौतिक उपस्थितिमा आयोजना गरिँदै आएको थियो । कोभिड–१९ महामारीले ०७७ र ०७८ सालमा अनलाइन (भर्चुअल) माध्यमबाट कविता प्रतियोगिता भएको थियो भने ०७९ सालमा डेंगु महामारीको कारण प्रतियोगिता रोकिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १०:५५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।