एजेन्सी । हातरसको एक निजी विद्यालय सीमा मन्सुर पब्लिक स्कुलमा रामको नाम उच्चारण गरेको भन्दै विद्यालयका व्यवस्थापकले विद्यार्थीलाई गाली गरेको घटना बाहिर आएको छ ।
त्यस स्कुलमा रामको नाम लिन र तिलक लगाएर आउन प्रतिबन्ध रहेको गाउँले बताउँछन् । सूचना पाएलगत्तै हिन्दू संगठनले विद्यालय पुगेर विरोध प्रदर्शन गरेको थियो । घटना भारतको पश्चिम उत्तर प्रदेशको हाथरस जिल्लाको एक निजी विद्यालयको हो । उक्त घटनामा शिक्षक मोहम्मद अदनानलाई समेत निलम्बन गरिएको छ ।
जिल्ला प्रशासनले घटनाको छानबिन गर्न समिति गठन गरेको र विद्यालयले सम्बन्धित शिक्षक मोहम्मद अदनानलाई निलम्बन गरेको जिल्ला प्रशासनले जनाएको छ ।विद्यालय व्यवस्थापनले धर्मका आधारमा विद्यार्थीमाथि भेदभाव गरेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ । तर, प्रधानाध्यापक सलमान किदवई विवादपछि सम्बन्धित शिक्षकलाई हटाएको बताउँछन् ।
शनिबार सीमा मन्सुर पब्लिक स्कुल बाहिर हिन्दू संगठनले जम्मा भएर हनुमान चालिसा वाचन गरेका थिए । विद्यालय बाहिर जय श्रीरामको नारा समेत लगाइएको थियो । प्रदर्शनमा बजरंग दलका स्थानीय कार्यकर्ताको समेत सहभागिता रहेको थियो । घटनाबारे एक हिन्दू कार्यकर्ताले भने, ‘एक बच्चाले शिक्षकलाई राम–राम भनेको के हो भनेका थिए, शिक्षकले त्यसको जवाफ दिएनन् र गाली गरे, त्यसैले हामी विरोध गरिरहेका छौं।’

हातरसका एसडीएम सदर रविन्द्र कुमार सिंहले घटनाको बारेमा भने, “प्रिन्सिपलले घटनाका लागि माफी मागेका छन् र भविष्यमा यस्तो भेदभाव नगर्ने र बच्चाहरूले खुला हृदयले पढ्ने कुरा लिखित सम्झौता गरेका छन्। अन्य घटनाक्रम जे भए पनि समितिले छानबिन गर्नेछ । जिल्ला अधिकारीले जिल्लाका आधारभूत शिक्षा अधिकारी समेत रहेको समिति गठन गरेका छन् । छानबिन प्रतिवेदन आएपछि आवश्यक कारबाही गरिनेछ । विद्यालय व्यवस्थापनले सम्बन्धित शिक्षकलाई पनि हटाएको छ ।”
बजरंग दलसँग सम्बद्ध एक हिन्दू कार्यकर्ताले भने, “अदनान नामका एक शिक्षक छन्, जसलाई भगवान रामको नाम लिन समस्या छ । शिक्षकलाई तत्काल निष्कासन गरी धार्मिक भावनामा ठेस पुर्याएको आरोपमा मुद्दा चलाइयोस् भन्ने हाम्रो माग छ ।’
हिन्दू संगठनले शिक्षकविरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी पनि दिएका छन् । विद्यालय व्यवस्थापनले यी आरोपलाई ठाडै अस्वीकार गरेको छ । विद्यालयका प्रधानाध्यापक सलमान किदवईले भने, ‘यो पूर्णतया आधारहीन छ, यहाँ सबै बालबालिकालाई राम–राम, नमस्ते, शुभ प्रभात वा सलाम भन्ने पूर्ण स्वतन्त्रता छ। बच्चाहरू पनि तिलक लगाएर स्कुल आउँछन्।” शिक्षक मोहम्मद अदनानले यस सम्पूर्ण घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
















प्रतिक्रिया