काठमाडाैं । कवि गीलु रातोसको ‘सिलीदुङ’ कविता संग्रह सार्वजनिक गरिएको छ । थेबा–ला पब्लिकेशनले प्रकाशन गरेको सो कविता संग्रह मण्डला थिएटरमा विश्लेषक आहुति, राजनीतिकर्मी माइला लामा, लेखिका प्रणिका कायु र कवि रातोसले सार्वजनिक गरे ।
कवि रातोसको यो पहिलो कृति हो । गणेशकुमार राई ‘बसन्त’ले आफूलाई कवि गीलु रातोसका रूपमा परिचित गराउँदै यो कृति बजारमा ल्याएका हुन् । किराँत जातिको उधौली चाड मंसिरे पूर्णिमा आसपासमा नाचिने सांस्कृतिक नामलाई लिएर कृतिको नाम ‘सिलीदुङ’ राखिएको कविले बताए।
यस कृतिमा ४४ वटा शीर्षकका छोटा कविता समेटिएका छन् । चार खण्डमा विभाजन गरिएका छन् । पहिलो खण्ड ‘प्रतिरोध’अन्तर्गत ‘आगोको व्यापार’, ‘फूलकुमारी हराएको रात’, ‘देब्रे हातको सलाम’, ‘मेरो हुलियाको आवरण’, ‘मृत्यु जितेर उभिएको कवि’ लगायत १६ शीर्षकका कविता रहेका छन् ।
यसैगरी दोस्रो खण्ड ‘मिथक र अस्तित्व’ अन्तर्गत ‘राममणिलाई उल्काको खबर’, ‘इन्द्रेणीको विरुद्धमा’, ‘चराको गीत’, ‘लाटोकोसेरोको उदास गीत’, ‘रङको सौन्दर्य’, ‘आमाको बाडुली’लगायत १९ शीर्षकका कविता छन् । चौथो खण्ड ‘चुलो’ अन्तर्गत ‘उभौली सम्झना’, ‘चिहानको सहरमा’, ‘पहिलो प्रेमको अभिलेख’, ‘युद्धमा फर्कन लागेको प्रेमी’लगायत ९ शीर्षकका कविता छन् ।
अन्तिममा ‘गौनसे दाइ’ शीर्षकमा स्वर्गीय कलाकार तथा कवि अर्जुन खालिङको सम्झना खिपेका छन् । कृतिमा अनुसन्धाता भोगीराज चाम्लिङले भूमिका लेखेका छन् ।
प्रतिक्रिया