Logo

प्रमुख समाचार

भुटानी शरणार्थी प्रकरण: धरौटी बुझाएपछि बुधबार छुट्दै टेकनाथ रिजाल



काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति गर्दा कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् ।

केन्द्रीय कारागार कार्यालय स्रोतका अनुसार उनी सम्भवतः बुधबार रिहा हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका कारागार स्रोतले जनायाे। रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो ।

रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले उनीसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

उनीसँगै थुनामा परेका हरिभक्त महर्जनले १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँले १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले १० लाख, रामशरण केसीले १५ लाख बुझाएर छुटिसकेका छन् ।

साथै, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपले बुधबार ३० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट थुनामुक्त भएका थिए ।

आशिष बुढाथोकीलाई पनि उच्च अदालतले साधारण तारेखमा राख्न आदेश दिएको थियो । उक्त इजलासमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई छाड्ने कि नछाड्ने भन्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएको थियो ।

न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिँदा खरेलले थुनामै राख्नुपर्ने राय दिएका थिए । यसरी राय बाझिएपछि मंसिर २८ गते न्यायाधीश कृष्णराम कोइरालाको इजलासले पाण्डेको रायमा सहमति जनाउँदै खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पा थुनामा छन् । सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई भने ललितपुरको नख्खुस्थित कारागारमा राखिएको छ ।

लक्ष्मी महर्जन, टंक गुरूङ र केशव तुलाधर साधारण तारेखमा छन् । जिल्ला अदालतले लक्ष्मीसँग ५ लाख, टंकसँग १० लाख र केशवसँग १५ लाख धरौटी मागेको थियो। त्यसविरूद्ध निवेदन लिएर उच्चमा जाँदा तीनै जनालाई साधारण तारेखमा राखेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्य विरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १६:४०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।