काठमाडौं- उपचार अभावमा सुदूरपश्चिमका जनताले अहिले पनि सास्ती खेप्नु परिरहेको छ। त्यहाँ रेफ्रल अस्पतालको रूपमा रहेका सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा पर्याप्त स्रोतसाधन छैन। प्रदेश सरकारको मातहतमा रहे पनि अपेक्षित रूपमा प्रदेश सरकारको नजर पुगेको देख्न सकिँदैन। अस्पताल व्यवस्थापन समिति पनि मूकदर्शक जस्तै छ।
अझैँ पनि सुदूरपश्चिम प्रदेशका जनताले उपचार अभावमा अकालमै ज्यान गुमाउनु पर्ने कि भारत वा नेपालगञ्ज तथा काठमाडौं धाउनु पर्ने अवस्था कायमै छ।
त्यसमा पनि सेती सुदूरपश्चिम प्रदेशको एकमात्र ठूलो रेफ्रल अस्पताल हो। वि.सं. १९९७ मा स्थापना भई अस्पतालमा १५ शय्याबाट उपचार सेवा सुरु गरिएको थियो। पछि २०४० सालमा अञ्चल अस्पतालका रूपमा विस्तार भएर ४० शय्यामा पुग्यो। २०६१ सालमा ५० शय्या र अस्पताल विकास समितिबाट ७५ शय्या गरी १५० शय्या पुर्याएर अस्पतालको सेवा विस्तार भएको देखिन्छ।
पछि २०७६ साल भदौ ५ गते सेती प्रादेशिक अस्पताल भएसँगै हाल ३५० शय्याबाट सेवा प्रदान भइरहेको छ। तर, अस्पताल स्थापना भएको लामो समय बितिसक्दा पनि अपेक्षितरूपमा भने सेवा प्रवाह र स्तरोन्नति हुन सकेको छैन।
अप्रेसन गर्न जाँदा समयमा सेवा पाउँदै गाह्रो छ। एक वर्षपछिसम्मको मिति लिएर बिरामीहरू फर्किनु पर्ने बाध्यात्मक अवस्था रहेको अस्पताल प्रशासन पनि स्विकाछन्।
एक जना बिरामीले नाम नखुलाउने सर्तमा सेतीमा पहुँचको भरमा उपचार हुँदै आएको गुनासो गरे। ‘व्यवस्थापन समिति अध्यक्ष, सदस्य वा डाक्टरका मान्छे भए समयमा उपचार पाइन्छ। अरूको कुरा नै सुनिँदैन। अस्पतालमा आम जनताले अपनत्व गर्न सक्ने खालको सेवा प्रवाह नै छैन,’ उनी गुनासो गर्छन्। सेती अस्पतालमा भन्दा पनि डाक्टरहरू कार्यालय समयमा निजी क्लिनिकमा व्यस्त हुने गरेको उनको गुनासो छ।
के अस्पतालमा साँच्चै कमजोरी छ भन्ने प्रश्नमा अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्ट पनि उक्त कुरा स्विकार्छन्। ‘हामीले राम्रो गर्न खोजिरहेका छौं। तर, हाम्रो कुनै कमजोरी नै छैन भनेर म पन्छिन वा जनतालाई ढाँट्न चाहँदैन,’ उनले भने।
सुदूरपश्चिममा पहुँचको भरमा जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको उनी दुखेसो गर्छन्। ‘सबैभन्दा ठूलो मान्छेको स्वास्थ्य नै हो। यहाँ त मानव जीवनमाथि नै खेलबाड हुने काम भइरहेको छ। समस्याबारे सबै जानकार छन्। तर, नजाने झैँ गरिदिएका छन्। कोसँग गुनासो गर्ने? कसलाई भन्ने,’ उनले भने।
के अस्पतालमा साँच्चै कमजोरी छ भन्ने प्रश्नमा अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्ट पनि उक्त कुरा स्विकार्छन्। ‘हामीले राम्रो गर्न खोजिरहेका छौं। तर, हाम्रो कुनै कमजोरी नै छैन भनेर म पन्छिन वा जनतालाई ढाँट्न चाहँदैन,’ उनले भने।
उनी अस्पतालको सुधारका लागि व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउँछन्। प्रत्येक व्यक्तिसँग दलगत आबद्धताको स्वतन्त्रता हुने भए पनि अस्पताल जस्तो संवेदनशील क्षेत्रमा त्यसको गन्ध देखिन नहुने उनले बताए। धेरै कुरा खुलाउन नचाहने पनि उनको भनाइले उनकै कार्यसमितिमा पनि राजनीतिक गन्ध कतै छ कि भनी शङ्का गर्ने ठाउँ देखिन्छ।
‘जाँचका लागि आवश्यक पर्ने जनशक्तिको अभाव छ, यन्त्र-उपकरणको समस्या छ, पर्याप्त भौतिक संरचना छैन। यहीबीच २०७८ चैत २ गते मन्त्रिपरिषद्को निर्णय अनुसार हामी अस्पतालको प्रशासनिक नेतृत्वमा आएका हौं। काम गरेको डेढ वर्ष भए पनि अपेक्षित काम गर्न सकेका छैनौं। मैले राम्रो गर्नुपर्छ। अस्पतालमा राजनीति हुनु हुँदैन भन्दा पार्टीबाटै कारबाही नै भोग्नुपर्यो,’ उनले भने। अस्पतालको स्तरोन्नति, छिटो छरितो गुणस्तरीय सेवा प्रदान गरी प्रदेशभित्र रहेका नागरिकको जीवनसँग खेलबाड गर्नु हुँदैन भन्ने विषयमा आफू स्पष्ट रहेको उनले बताए।
उनले डा. हेमराज पाण्डेय मेसु हुँदा कर्मचारी र स्वास्थ्य क्षेत्रको सुधारमा केही सकारात्मक प्रयास भएको स्विकार्छन्। ‘हामीसँग धेरै सम्भावना छ। लामो इतिहास बोकेको सेती प्रादेशिक अस्पतालले दिन नसकेका सेवा सुविधा त्यही ठाउँमा कतिपय निजी स्वास्थ्य संस्थाहरूले दिइरहनु भएको छ। निजीले सक्ने, हामीले त्यही सेवा दिन नसक्ने भन्ने हुँदैन। इमानदार प्रयास भयो भने हामी पनि सबै खाले सेवासुविधा दिन सक्छौं,’ उनले। उनले सुदूरपश्चिममा निजी स्वास्थ्य संस्थाले दिएका सेवालाई पनि राज्यले संरक्षण गर्नुपर्ने बताए। निजी क्षेत्रसँगको साझेदारीमा मात्र सुदूरको स्वास्थ्य अगाडि बढ्न सक्ने उनको भनाइ छ। त्यसो भएमा धनगढी स्वास्थ्य हबका रूपमा विकास हुने उनले दाबी गरे।
अस्पतालमा डाक्टर र कर्मचारीको सेवा सुविधा बढाउनतर्फ पनि ध्यान दिनुपर्ने भट्ट बताउँछन्। आफ्नो दैनिकी सहज रूपमा चल्न सक्ने अवस्था भए डाक्टरहरूले निजी अस्पताल चाहर्न नपर्ने भट्टको बुझाइ छ। यसतर्फ भने सरकार गम्भीर हुनुपर्ने उनले बताए।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमर भने आफूले गरिरहेका नियमित काम गरिरहेको बताउँछन्। उनले आवश्यक परेको जनशक्ति भने अहिले रहेको बताए।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष दुर्गा जोशी भने अहिलेको व्यवस्थापन समिति गफाडी भएको आरोप लगाउँछन्।
अध्यक्ष नरबहादुर शाह भने आफूहरूको कमजोरी स्विकार्न तयार छैनन्। उनी अस्पतालमा थुप्रै सुधार भएको दाबी गर्छन्। बिरामीको चापका कारण केही समस्या हुनु स्वाभाविकै भएको उनले बताए। स्वास्थ्यकर्मीहरू केही पहिले उपचारका लागि निजी क्लिनिकमा जाने भए पनि अहिले त्यो समस्या नरहेको उनको दाबी छ। ‘१० बजेर १० मिनेटमा डाक्टर र वार्ड इन्चार्जको मिटिङको व्यवस्था गरिएको छ। इलेक्ट्रिक हाजिरको व्यवस्था छ। कतिबेला आयो, कतिबेला गयो, निगरानी हुन्छ। विभिन्न वार्डमा फर्महरू छन्। हामीसँग त सेवा नै सेवा छन्,’ उनले भने, ‘सिटीस्क्यान र एमआरआइ हाम्रो पहलमा जडान भइसक्यो।’ खानेपानी, ट्वाइलेट सरसफाइदेखि विभिन्न सेवा विस्तार भइरहेको उनले दाबी गरे। अस्पताल रंगरोगन, कर्मचारी परिचालन, व्यवस्थापनलगायत समग्र क्षेत्रमा ध्यान दिइएको उनले बताए।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष दुर्गा जोशी भने अहिलेको व्यवस्थापन समिति गफाडी भएको आरोप लगाउँछन्। ‘अहिलेको व्यवस्थापन समितिले अहिलेसम्म भएका सबै काम आफूले नै गरेको भनेर जिकिर गरिरहेको सुनेको छु। सबै जस लिएर पुग्ने भए लेओस्। सिटीस्क्यान र एमआरआइको खरिद प्रक्रिया मेरो कार्यकालमा भएको हो। त्यसको लिखित प्रमाण नै छ। तर, अहिलेको व्यवस्थापन समितिका अध्यक्ष शाहले आफूले पहल गरेको भनेको सुन्दा ताजुब लागेको छ’, उनले भने।
आफू अस्पतालमा आउँदा सरसफाइको निकै समस्या रहेकोमा सरसफाइ विभाग गठन गरेर काम गरिएको उनले बताए। गेटमा गार्डको व्यवस्था गराइएको उनी स्मरण गर्छन्। ‘अस्पतालमा कुकुरको ठूलो बिगबिगी थियो, ट्याक्सी पार्किङ स्थलको रूपमा विकसित भएको थियो। यी सबै व्यवस्थापन गर्यौं’, उनले भने।
आफ्नो पहलमा सिटीस्क्यान स्थापना काम गर्ने भएको उनी बताउँछन्। तर, आफूले प्रशासनिक नेतृत्व गरिरहेको समयमा कोरोना महामारी आएसँगै धेरै काम चाहँदा चाहँदै पनि गर्न नसकिएको उनको भनाइ छ।
अस्पताललाई व्यवस्थित गर्ने भन्दा पनि यसरी विभिन्न समूहका व्यक्तिगत स्वार्थ हाबी हुँदा अस्पताल आफैँ भने बिरामी अवस्थामा पुगिसकेको स्थानीयको गुनासो छ। सबैको ध्यान अस्पताल सुधारमा हुनुपर्नेमा त्यो हुन नसकेको स्थानीय बताउँछन्।




















प्रतिक्रिया