Logo

प्रमुख समाचार

किन रुन्छन् बच्चाहरू? 



रुनु प्राकृतिक र स्वाभाविक प्रक्रिया हो। रुनु भावनात्मक प्रतिक्रिया हो। हामीले बच्चा रुनुलाई महत्त्व दिनुपर्छ। आफ्ना भावना व्यक्त गर्न नसक्दा बालबालिकाहरू रुने गर्छन्। डर, क्रोध, पीडा, निराशा, उदासीनता, भोक जस्ता कुरा महसुस भएका बच्चाहरू रुने गर्छन्।

आमाबुबाले बच्चाहरूको रुवाइलाई सामान्य रूपमा लिनु हुँदैन। रुनु शरीरको लागि डिटोक्सिफाई र भावनात्मक तनाव कम गर्ने तरिका हो। बच्चा किन रोइरहेको छ, त्यो थाहा पाउँदा उसको भावनात्मक मागलाई पूर्ति गर्ने वा फकाउने गर्नुपर्छ। तर, हामी बच्चा कति रोएको होला भन्दै झर्की रहेका हुन्छौं।

यसको अर्थ सानो बच्चाहरूमात्रै धेरै रुन्छन् भन्ने होइन। तर, बच्चाहरू ठूलोको तुलनामा अधिक रुने गर्छन्। बच्चा किन रोइरहेको छ भनेर थाहा पाउन गाह्रो हुने बाल रोग विशेषज्ञ यशा अमात्य बताउँछिन्।

२० प्रतिशत आमाबुबाले जन्मेको तीन महिना शिशु रुने वा चिढचिढाउने गरेको बताउँदै आएको उनको भनाइ छ। सामान्यतया ६ हप्तासम्मका शिशु अधिक रुने गर्छन्।  १२ देखि १६ हप्तासम्ममा शिशुमा रुने क्रम बिस्तारै कम हुँदै जान्छन्।

किन रुन्छन् बच्चाहरू? 

सामान्यतया कुनै पनि बच्चा जन्मने बित्तिकै रुने गर्छन्। यो सामान्य नै हो।

बच्चा रुँदा उसले केही भन्न खोजिरहेको भनेर बुझ्नु आवश्यक हुन्छ। बच्चाले केही बोल्न नसक्ने हुँदा उसको मनको कुरा बुझ्न गाह्रो हुन्छ। धेरैजसो शिशुहरूको लागि रुनु सामान्य प्रक्रिया हो।

१. भोक लाग्दा पनि बच्चाहरू रुन सक्छन्। शिशुले एकैपटक धेरै दूध खान सक्दैन। दिनमा पटक-पटक दूध खुवाइरहनुपर्छ। दिनमा कम्तीमा ८ देखि १२ पटकसम्म दूध खुवाउनुपर्छ। बच्चालाई दूध नपुगेर पनि रुन सक्छन्।

२. दिशा पिसाब गरेर कपडा भिज्दा शिशुले असहज महसुस गर्छ। त्यसकारण पनि शिशु रुन सक्छ। त्यसैले बेला-बेलामा शिशुलाई लगाइदिएको लुगा भिजेको छ/छैन ख्याल गर्नुपर्छ।

३. बच्चाको छाला धेरै संवेदनशील हुन्छ। कोठाको तापक्रम चिसो भएमा छिट्टै चिसो भएको महसुस गर्छ र गर्मी भएमा छिट्टै गर्मी महसुस गर्छ। त्यसैले  तापक्रम सामान्य राख्नुपर्छ। तापक्रम अनुसार बच्चालाई कपडा लगाइदिनुपर्छ।

४. कहिलेकहाँ बच्चा थाकेको हुन्छ। जसकारण उसलाई निन्द्रा नलाग्दा बच्चा रुन थाल्छ। बच्चा थाकेको बेला पहिचान गर्न सक्नुपर्छ र उसलाई व्यवस्थित गर्नुपर्छ।

निद्राको आवश्यकता प्राय: सबै बच्चाहरू फरक हुन्छ। त्यसैले फरक मात्रामा निद्रा चाहिन्छ भन्ने कुरामा जोड दिनुपर्छ। औसतमा बच्चा जन्मँदा हरेक २४ घण्टामा १६ घण्टा सुत्छन्। २ देखि ३ महिनामा निन्द्रा १४ घण्टामा झर्छ। यदि बच्चाहरू दिनमा ब्युँझिरहेका छन् र खुसी छन् भने, उनीहरूलाई थप निद्रा आवश्यक पर्ने सम्भावना हुँदैन।

शिशु अत्यधिक रोइरहेको अवस्थामा के गर्ने?   

१. सामान्य तया धेरैजसो आमाबाबुले बच्चालाई शान्त नभएसम्म र नसुत्दासम्म बिस्तारै हल्लाउने गर्छन्। यो राम्रो प्रक्रिया हो। यसरी बच्चा केही शान्त हुन्छ। बच्चालाई एकदमै शान्त कोठा र थोरै डिम लाइट भएको ठाउँमा सुताउनुपर्छ।

यस्तो ठाउँमा बच्चालाई निन्द्रा लाग्न सहज हुन्छ। बच्चा निन्द्राले झुप्प भएपछिमात्रै उसलाई बेडमा राख्नुपर्छ। यसरी बेडमा राखेको केही समयसम्म पनि बिउँझेकै हुनसक्छ। त्यसैले उ केही बेर आफैँ चल्न थाल्छ। बच्चालाई केही बेर त्यसरी नै चल्न दिनुपर्छ। बच्चा सुतेपछि फेरी एक पटक हेर्नुपर्छ । किन भने कुनै-कुनै बच्चा सुतिसकेको केही समय पुनः रुन थाल्छन्। त्यसो हुँदा बच्चालाई फेरि बिस्तारै हल्लाउनुपर्छ।

२. केही बच्चाहरू सधैँ आमासँग मात्र हुन चाहन्छन्।  एक्लै छोडियो भने तिनीहरू निरन्तर रुन थाल्छन्। जति प्रयास गरे पनि उनीहरू शान्त हुँदैनन्। यस्तो बेला आमाले आफ्नो बच्चालाई कोखमा बोक्न सक्छन् वा बच्चालाई एउटा कोठाबाट अर्को कोठामा लैजान सक्छन्। यसो गर्दा बच्चा केही शान्त हुनसक्छ।

बच्चा अस्वस्थ भएको शंका लागेमा तुरुन्त चिकित्सककोमा लैजानु पर्छ।

(अनलाइन पानाका लागि डा. यशा अमात्यसँग भूमिका के. बिष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ०८:०३   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।