Logo

प्रमुख समाचार

धूमपानले तपाईंमात्र होइन, आफन्तको मुटु पनि पोलिरहेको हुन्छ



वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन्।

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूमपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा. अनिलले बताए।

कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग गर्यो भने त्यो सफल हुने सम्भावना बढ़ी हुन्छ। साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने भएकाले त्यस दिनदेखि धूमपान र सुर्ती सेवनको लतलाई त्याग गर्न आफ्ना शुभेच्छुकहरूलाई उनले आह्वान गरेका छन्।

‘प्रणय दिवस’का अवसरमा तपाईं फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस्। त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो’ डा. अनिलले भने, “यदि तपाईं आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नुहुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र ?” अझ त्यस विद्याकी देवीलाई पूजा गरिने दिन पनि परेको छ। कुलत त्याग्नेजस्तो नैतिक शिक्षा अर्को कुनै हुन्छ ? डा. अनिलको प्रश्न छ।

कुलत त्याग्नु जीवनको अमूल्य उपहार हो। चुरोट र सुर्ती सेवन छोड्दा आफ्नो आयु मात्रै लम्बिँदैन परिवारको आयु पनि बढ्ने हुँदा ‘स्मोकर्स आर नट सेल्फिस’ भन्ने नारालाई जोड दिइएको उनको भनाइ छ। कुलत छुटाउन प्रोत्सहान गर्ने उद्देश्यका निम्ति यस अभियानमा ‘धूमपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने टेमप्लेटलाई सकारात्मक र सुखद् परिणामको अपेक्षासहित राखिएको डा. अनिलले स्पष्ट पारे।

डा. अनिलका अनुसार मानिसको मृत्युका कारणमध्ये धूमपान प्रमुख रहेको अध्ययनहरूबाट प्रमाणित भएको छ। तमाखु सेवन गर्ने हरेक दुई जनामध्ये एक जनाको मृत्यु हुने गरेको छ। प्रत्येक एक खिल्ली चुरोटले सेवनकर्ताको ११ देखि १३ मिनेटसम्म आयु घटाउने भन्दै त्यस्ता मानिसको जीवनमा १० महिनाको वर्ष हुन्छ। अर्थात् सेवनकर्ताको हरेक वर्ष औसत दुई महिना आयु घट्दै जाने उनको भनाइ छ।

धूमपान गर्नेलाई दुईदेखि चार प्रतिशत हृदयाघात हुने खतरा छ भने फोक्सोको क्यान्सर हुने जोखिम २५ प्रतिशतसम्म रहेको उनले बताए। त्यस्तै एक वयस्क मानिसले अत्यधिक चुरोट सेवन गरेमा १५ वर्षदेखि २५ वर्षसम्म छिटो मृत्युको जोखिम रहेको अध्ययनले देखाएको छ।

कुनै व्यक्तिले धूमपान गर्दा उसलाई मात्रै होइन, वरिपरिका मानिसलाई पनि गम्भीर असर गर्छ। यसबाट विशेषगरी गर्भमा रहेका शिशु, बालबालिका र सास फेर्न समस्या भएका व्यक्तिहरूलाई सबैभन्दा बढी जोखिममा हुन्छ। यसले सेवनकर्ता, वरिपरिका मानिस र सेवनकर्ताले प्रयोग गरेका सामग्रीबाट पनि अरुको स्वास्थ्यमा असर गर्छ।

एक अध्ययन अनुसार धूमपानबाट ८० लाख जनाको मृत्यु हुँदा १३ लाखले अन्य धूमपानकर्ताले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको डा अनिलले जानकारी दिए। धूमपानको भयावह स्थिति नेपालजस्ता गरीब मुलुकमा उच्च रहेको उल्लेख गर्दै विश्वका १ दशमलव ३ अर्ब जना धूमपान गर्ने मानिसमध्ये ८० प्रतिशत गरीब देशका नागरिक रहेको अध्ययनमा देखिएको उनको भनाइ छ।

धूमपान नगर्दा आफू अकाल मृत्युबाट जोगिनुको साथै अभिभावकत्वको जिम्मेवारी पूरा गर्न सकिने र परिवारको आर्थिक, सामाजिक सुरक्षा गर्न सकिन्छ। “जीवन मेरो मात्रै होइन, ममाथि धेरै जना आश्रित छन्” भन्ने बुझ्न जरुरी रहेको उनी बताउँछन्। धूमपानको लत छुटाउने अभियान शुरू गरेका डा. अनिलले त्यस्ता व्यक्तिलाई प्रोत्साहन गर्न उनले आफ्नो फेसबुक पेजमा गुगल फर्मसमेत राखेका छन्। जहाँ आफूले धूमपान परित्याग गरेको प्रतिबद्धता व्यक्त गर्न सकिन्छ।

सामाजिक सञ्जालबाट चेतनामूलक अभियान चलाउने क्रममा विश्व कीर्तिमान कायम गरेका डा अनिलको बिहीबार फेसबुक लाइभमा ६ हजार ६७२ जना प्रत्यक्ष जोडिएका थिए भने तत्काल करिब ५० जनाले सुर्तीजन्य पदार्थको सेवन छाड्ने प्रतिबद्धता जनाएका थिए।

चुरोटको लत कसरी छोड्ने?

१‍. चुरोट छोड्ने बेलामा ‘एउटा मात्रै’ भन्ने विचार मनमा आउन दिनु हुँदैन। ‘एउटा मात्रै’ बाट शुरु गरेर फेरि पहिला जस्तै लत लाग्न सक्छ।

२. आफूलाई काममा व्यस्त राख्नुहोस्, जसले गर्दा ध्यान चुरोटको सेवनतिर नजाओस्। चुरोटको सेवन गर्न इच्छा लागेमा ‘केहीबेर पर्खिन्छु’ भन्दै ध्यान अन्यत्र लग्नुहोस्।

३. तपाईंले जुन ठाउँहरुमा पहिला चुरोटको सेवन गर्नुहुन्थ्यो, त्यहाँ नजानुहोस्। चुरोटको सेवन गर्ने व्यक्तिहरुको संगत केही दिनको लागि छोड्नुहोस्।

४. यस अवधीभरिमा आफ्ना मित्रहरु र परिवारका सदस्यहरुलाई तपाईंको समक्षमा धुम्रपान नगर्दिन आग्रह गर्नुहोस्।

५. राती चाँडै सुत्नुहोस्, आराम गर्नुहोस् र मानसिक तनाव कम गर्नुहोस्।

६. चुरोटको सेवन छोडेपछि हुने फाइदाको बारेमा सोचेर आफ्नो मनोबल बढाउनुहोस्। शुरुको केही हप्तामा मात्रै अलिअलि अप्ठायारो भए पनि पछि चुरोट नखाने बानी बस्छ।

७. चुरोट छोड्ने प्रयास गरेर असफल भए पनि निराश हुनु हुँदैन, किनभने चुरोट सफलता पुर्वक छाडिसकेको धेरै व्यक्तिहरु शुरुमा असफल भएका हुन सक्छन्। त्यसैले फेरी कोशिश गर्नुहोस्। एकदिन तपाईं चुरोटको लतबाट मुक्त हुनुहुन्छ।

८. चुरोटको सेवन बन्द गरेको कुरा सबैलाई भन्नुहोस्। यसले तपाईंलाई पुनः सेवन गर्नबाट रोक्न मद्दत पुग्छ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १२:२४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।