काठमाडौं । काठमाडौंमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ।
अदालतले रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश गरेको हो। अदालतको आदेशपछि उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौंको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मारेर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई २ माघमा पक्राउ गरेको थियो। कालोबजारीविरुद्धको कसुरमा जेल चलान भएका विनोद मनोज खत्री र विनोद कुमार कार्की मामा–भान्जा हुन्।
कारखाना सञ्चालक मध्येका सिन्धुली घर भएका २८ वर्षीय गौरव तामाङ ४० हजार धरौटीमा रिहा भएका छन्। पक्राउ गरेर अदालतमा उपस्थित गराइएका एक जना नाबालकलाई ‘जिम्मा जमानी’मा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।
आरोपीहरूले नेपाली र विदेशी ब्रान्डको नक्कली मदिरा तयार गरेर बेचेका हुन्। उनीहरूको कारखानाबाट प्रहरीले नेपाल ब्रान्डको मदिरा खुकुरी रम, गोल्डेन ओक, फाइटर र सिग्नेचर बरामद गरेको छ।
प्रतिक्रिया