Logo

अनलाइनपाना खोज

बैंकिङ प्रणालीमाथिनै धावा बोल्ने प्रसाईंलाई किन हुँदैन कारबाही ?



काठमाडौं । बैंक तथा संस्थाबाट अर्बौ रुपैयाँ ऋण लिएर तिर्नुको सट्टा तिनै समग्र बैंकिङ प्रणाली माथि नै धावा बोल्दै आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आराजकताले सिमा नाघेको छ । आफ्नो निहित स्वार्थका लागि ऋणीहरुलाई ऋण नतिर्न उक्साउँदै आएका प्रसाई अहिले बैंक ‘सहकारी डुबेझैँ बैंक डुब्दैछ, निक्षेप निकाल्नुस’ भन्दै अनेकन दुष्प्रचार गर्दै निक्षेपकर्ता भड्काउन हदैसम्मको प्रयास गरिरहेका छन् ।

प्रसाईले वित्तीय साक्षरताको पहुँचभन्दा बाहिर रहेका र बैंकिङ चेतनाको अभाव भएका नागरिकलाई ऋण मिनाहाको झुटा सपना बाडेर उनीहरुको पक्षमा नाटकीय वकालत गर्दै आएका छन् । प्रसाईका कुरा पत्याएर केहि दिन यता एनआईसी एसियाबाट दिनहू अर्बौ रुपैया बाहिरियो । किनकी सहकारी डुबेको नमिठो अनुभव संगालेका सर्वसाधारणलाई उनका कपोकल्पित कुराले त्रसित बनाएको थियो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नातिरेका प्रसाई अर्बौका महलमा बस्छन् । करोडौका चिल्ला बुलेट प्रुफ गाडीमा दायाँबायाँ बडीगार्ड राखेर हिड्ने प्रसाईले निम्न बर्ग र भूइमान्छेको आवाज बोलेको भन्दै अपत्यारिला कुरा गर्छन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नुपर्छ भन्ने दायित्व बिर्सेर अन्य ऋणीलाई समेत ‘ऋण नतिर्नु मिनाहा हुन्छ’ भन्दै झुटको खेति गरिरहेका छन्, जुन खेति कहिले पाक्दैन । किनकी ऋण लिएर तिर्दीन भन्ने छुट कसैलाई हुँदैन । ऋण लिएपछि तिर्नु ऋणीको प्रमुख दायित्व हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण आम निक्षेपकर्ताको सम्पत्ति हो ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन, निर्देशन र नियन्त्रणमा चल्ने संस्था हुन् । वित्तीय संस्थामाथि राष्ट्र बैंकले नियमित रुपमा अनुगमन गरिरहेको हुन्छ । नियम मिचेको खण्डमा आवश्यक कारबाही र करोडौ जरिवाना समेत गर्छ । नियम अनुरुप नचलेका अथवा संकटग्रस्त अवस्थामा पुगेका बैंकहरुलाई मर्ज गर्ने, टेकओभर गर्ने जस्ता काम राष्ट्र बैंकले गर्छ ।

प्रसाईले भनेका बिषय कुनै एक सस्थां वा ब्यक्तिका सर्दभमा भनौ या एनआईसी एशियाका सन्दर्भमा मेल खाएपनि सिंगो बैंकिङ प्रणालीमाथि नै धावा बोल्नु कतै उपयुक्त देखिदैन । निकृष्ठ सोच, खराब नियत लिएर प्रसाईंले बैंक तथा वित्तिय सस्थांको ऋण नतिर्न अर्थहीन भिड जम्मा गर्दै गलत भाष्य निमार्ण गर्न खोजिरहेका छन् ।

प्रसाईंमाथि किन हुँदैन कारबाही ?

झट्ट हेर्दा प्रसाईंले उठाएका मुद्दा आम नागरिकका समस्या हुन् । जस्तै बैंकको ब्याज न्यूनीकरण गर्नुपर्ने, ऋणी आनवस्यक तनाव दिन नहुने, धितो राखिएको सम्पति समय अगावै लिलाम गरिहाल्न नहुने जस्ता समस्या जायज लाग्छन् । तर बचतकर्ताको रकम नै डुब्ने गरि ऋण लिएर नतिर्नका लागि ऋणीलाई उक्साउदै हिड्ने, गलत भाष्य प्रवृत्ति निमार्ण हुनेगरि अभिव्यक्ति दिने र कर्तव्य पालना गरिरहेकाहरुमाथि कालो मोसो दल्नेजस्ता आराजक र अवान्छित गतिविधि न्यायोचित र नियमसंगत छैनन् ।

प्रसाईले सार्वजनिक कार्यक्रममै खुलेआम महिलामाथि तल्लो स्तरका शब्द प्रयोग गर्ने, जसलाई मन लाग्छ उसैलाई गालिगलौज गर्ने, आफ्नो स्वार्थपूर्तिका लागि अनुचित प्रभावमा पारेर आम नागरिकको बाध्यता र भावनामाथि खेल्ने र अनपेक्षित आसा देखाउने जस्ता गैरकानुनी क्रियाकलाप गरिरहेका छन् । तर नेपाल सरकार र सरोकारवाला निकायहरु उनका गलत हर्कतलाई टुलुटुलु हेरेर मुकदर्शक बनिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाका ऋण नतिर्न अनेकन प्रपन्च गरिरहेका प्रसाईंलाई आखिर कसले संरक्षण गरिरहेको छ ? उनलाई कारबाही गर्न कसले रोक्यो ? प्रसाईंका ‘अवान्छित गतिविधि’ र ‘गुमनाम राज्य’ यतिबेला आम चासोको बिषय बनेको छ ।

प्रसाईले आफ्नो निहित स्वार्थ सिद्ध गर्नकै लागि समग्र प्रणाली माथि नै आँच आउने गरी हल्का टिप्पणी गरिरहेका छन् । जुन खेदजनक छ । समग्र बैंकिङ प्रणाली र सिंगो राज्य व्यवस्थामाथि नै धावा बोल्दै प्रसाईंले अवाञ्छित क्रियाकलाप गरिरहँदा समेत राज्यले उनलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने हिम्मत गरेको देखिँदैन ।

यो पनि…

राजाकै शैलीमा दुर्गा प्रसाईँ, पहिलेभन्दा झनै खस्कियो साख

लघुवित्त पीडितको बुई चढेर गणतन्त्रका ‘राजा’ बन्न तम्सिएका दुर्गा प्रसाईं

दुर्गा प्रसाई फरार, खोज्दै प्रहरी !

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १९:०५   :  बजे

3.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।