Logo

प्रमुख समाचार

यस्तो छ थापाथलीबाट शिशु चोर्ने महिलाले प्रहरीमा दिएको बयान



थापाथलीस्थत प्रसूति गृहबाट शुक्रबार २६ दिनको शिशु चोरी गरेर पक्राउ परेकी दैलेख नौमुलेकी २६ वर्षीया मानकुमारी सिंहले शिशु चोरी गर्नुको कारणबारे प्रहरीलाई प्रारम्भिक बयान दिएकी छन् ।

यस्तो छ उनको बयान

पटकपटक मेरो बच्चा खेर गयो । हालै मात्र पनि मेरो बच्चा खेर गएको छ । त्यही कारण ब्लिडिङ भइरहेको छ । मेरो श्रीमान नेपाली सेनामा हुनुहुन्छ । उहाँ पोष्टिङ दोलखामा हो । कहिले काहीं बिदामा मात्र आउनुहुन्छ । धेरै प्रयास गर्दा पनि बच्चा नबसेपछि श्रीमान पनि निराश हुनुहुन्छ । म पनि मानशिक रुपमा विछिप्त भइसकें । पछिल्लोपटक बच्चा खेर गएको विषयमा मैले उहाँलाई भनेको छैन । अत्याधिक ब्लिडिङ भएपछि म उपचारका लागि प्रसूति गृह गएकी थिएँ ।

केही दिनदेखि कसैको बच्चा पाए पनि लैजान हुन्थ्यो भन्ने मनमा कुरा खेलिरहेको थियो । अस्पतालमा आमाले छाडेका बच्चाहरु पाइन्छ रे भन्ने सुनेकी थिएँ । कसैको बच्चा लिएर भाग्न पाए पनि हुन्थ्यो भन्ने सोच पनि आउँथ्यो बेलाबेलामा । म अस्पतालको बाहिर उभिएको थिएँ । एक जना बहिनीले मेरो बच्चा केहीबेर समाइदिनुस् न भन्नुभयो ।

उहाँको हातमा फोहोर थियो । उहाँ फोहोर फाल्न भनेर डस्बिन भएतिर गएपछि म बच्चा लिएर बाहिर निस्किएँ । ट्याक्सी चढेर सिधै काँडाघारी डेरामा आएँ । श्रीमानलाई पनि फोन गरेर बच्चा जन्मिएको जानकारी दिएँ । उहाँ खुसी हुनुभयो । काठमाण्डु आउँछु भन्नुभएको थियो । राति नै पक्राउ परें । अहिले मलाई गल्ती गरिएछ भन्ने महसुस भएको छ ।

(प्रहरी अधिकारीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : फाल्गुन १२, २०८० शनिबार  १२ : ०१ बजे

921
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।