काठमाडौं । कविता र गीत विधामा उत्तिकै लोकप्रिय जनकवि दुर्गालाल श्रेष्ठ ‘बुढानीलकण्ठ आजीवन साधना सम्मान-२०८०’बाट सम्मानित भएका छन् । सम्मानस्वरुप उनलाई ५५ हजार ५ सय ५५ नगद राशि प्रदान गरियो ।
बुढानीलकण्ठ नगरपालिका आयोजक रहेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिहरुको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो । उनलाई आजीवन नेपाली र नेपालभाषा साहित्यका लागि गरेका योगदान सम्झँदै सम्मान गरिएको व्योहोरा युवा कवि प्रज्ववल अधिकारीले पढेर सुनाएका थिए ।
१९९२ सालमा काठमाडौंमा जन्मिएका ८८ वर्षीय कवि दुर्गालालले आफ्नो स्वास्थ्य अवस्थाका कारण पुरस्कार पाएपछि को धन्यवाद मन्तव्य अडियोमा अभिव्यक्त गरे । अडियोमा भावुक हुँदै बोलेका थिए, ‘आफ्नै टोलको यो माया सँगाल्न पाउँदा जीवनमा सबैभन्दा बहुमूल्य वस्तुको उपभोग म गर्दैछु कि मलाई लाग्छ।’
जनकवि तथा जगदम्बाश्री जस्ता पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका कवि दुर्गालाल पछिल्लो पुस्तामाझ आनी छोइंग डोल्माले न्यूह् बज्राचार्यको संगीतमा गाएको ‘फूलको आँखामा फूलै संसार’का गीतकारका रूपमा बढी चर्चित छन् ।




















प्रतिक्रिया