Logo

प्रमुख समाचार

उपेक्षित क्रान्तिनायकहरूलाई न्याय दिने ‘गोपीचा’



चिया पिउन आज विहान एक पसलमा पसेँ। केही मानिस चिया गफमा व्यस्त थिए। उनीहरूको गफको बारेमा मैले किन चासो दिनु र? भन्ने लागेर मतलव गरिरहेको थिइन। उनीहरूको बिन्दास र गैरजिम्मेवारपूर्ण गफले प्रवाह नगर्दा पनि मेरो ध्यानाकर्षण गराएरै छाड्यो।

दमाइको छोरी विवाह गर्नेसँग किन बोल्ने? भन्ने शब्दले आक्रोश, हिनताबोध, लज्जा, विद्रोह, लघुताभाष, कमजोर, निरीह के के अरू महसुश गरायो एकै पटक कैयौ भालाहरू घोचेर आफू रक्ताम्मे भएँ जस्तो, असह्य पीडाले छटापटाएँ जस्तो, एकैपटक यी सबै अनेक प्रतिक्रियाहरू मैलेमात्र महसुश गरिरहेको थिएँ। उनीहरूलाई यस्तो विभेदपूर्ण कुरो सामान्य र आफू दमाई नभएकोमा गौरव भए जस्तो। मानौं दमाई हुनु नै अपराध हो, गइगुज्रेको हुनु हो, सबै कमीकमजोरी भएकै कारण दमाई भइन्छ। नेपाली समाजको जातव्यवस्थाले मान्छेको कतिसम्म दुर्गति गरिदिन्छ आधुनिक गणतान्त्रिक युगका मान्छेहरूको समेतको त्यो सम्वादले प्रमाणित गर्दछ।

त्यो मानिससँग बहस गरूँ इटको जवाफ पत्थरले दिउँ भन्ने लाग्यो। झम्टिउ, सके पनि नसके पनि। नेश्ननल जिओग्राफिक च्यानलमा भैसीले सिंहलाई ढाड भाँच्ने गरी प्रतिकार गरे झैं गरू लाग्यो। तर, एक छिन सोचे मलाई ठिक गरिस् भन्नेको तादात अल्प अति अल्प हुनेछ। हातै त नछोड्नु पर्ने। त्यसले बोल्नै पर्ने। त्यसलाई त भन्या थिएन नि। ठेकेदार ठान्छ आफूलाई। भनेर मजाक उडाउने, यो विभेदलाई विभेद नै नठान्ने मानिसहरूको कसिंगर बनिने नै छ। तर, पनि लड्नु त पर्छ यसो सोचेँ के गर्ने होला? यो मानिसलाई पनि ठाउँको ठाउँ ठिक पार्ने कि यो प्रवृत्तिका विरूद्ध बोल्ने? यो त नेपाली समाजको ऐतिहासिक निरन्तर प्रवित्ति हो। यो प्रवृत्तिलाई प्रहार र निरुत्साहित गर्न के गर्ने होला? ‘गोपीचा’ उपन्यासको अन्तरजातीय प्रेम र विवाहको बारे केही लेखे त्यो प्रवृत्तिलाई प्रहार अवश्य हुन्छ भन्ने लाग्यो।

डेढ महिनाभन्दा बढी भए होला उपन्यासकार विश्व कुइकेलको ऐतिहासिक उपन्यास ‘गोपीचा’ पढेको स्मरण भयो। नवयुवा बाहुन केटोले दलित केटीसँग विवाह गरेको भन्ने आरोपमा कारावासको सजाय पाउछ। र, जात नै खसालिएर बाहुनबाट च्यामे केटीको जात बनाइन्छ। घरबाट निकालिन्छ। उसको परिवार बुवाआमा दाजुभाइ दिदी बहिनी सबैलाई उसको माया मार्नुपर्ने अवस्थामा पुर्‍याउछ। घरबाट खेदाउनुपर्ने अवस्थामा पुर्‍याउछ यो समाजले उसको परिवारलाई।

एउटा बाहुनको छोरो विद्रोही गणेशमान सिंहलाई जेलबाट भाग्न सुरुङ खनेको भेद खुलेपछि जात खसेर दलित बनाइएका कारण मृत्यु दण्डको सजाय पाउँछन्। जसलाई दलित समूदायको सहिद भनेर दानबहादुर विश्वकर्माको ‘शिल्पी समुदायको वृहत्त इतिहास’मा उल्लेख गरिएको छ।

गोपी शर्मा एक च्यामे जातिकी केटीलाई निर्दोष साँचो निर्मल प्रेम गर्न पुग्छ। जात व्यवस्थाले गाजेर मानवता हाराएको समाजमा मान्छेले मान्छेलाई गरेको प्रेम र विवाहको रहर सामाजिक बहिस्कार हुनुपरेको अपमान सहन बाध्य भएको गोपी च्यामेमा बाहुनै बन्न पाइयोस भन्ने चहाना हुनु त्यतिबेलाको समाजभित्रको कुनै पनि मान्छे त्यसमा पनि गोपी जस्तो भुइँ मान्छेमा देखिनु स्वभाविक नै देखिन्छ।

किनकी राणा शासनविरूद्ध संघर्षको विगुल फुकेका ब्राह्मण भएकै कारण शहिदहरू दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमा झै मृत्यूदण्ड नपाएका जिउदा सहिद भनेर चिनिएका पूर्व प्रधानमन्त्री टंक प्रसाद आचार्यलाई पनि राजकाज मुद्दामा जेल साजाय पाएका तर पानी नचल्ने सजाय हुँदा उहाँ जस्तो क्रान्तिकारीले पनि पानी चलाइ माग्न तत्कालिन बडागुरुज्यूलाई गुहार गरेको घटनाले जात व्यवस्थाको चोट कति क्रुर, निर्दयी, पाशविक र अमानवीय रहेछ भन्ने छ। अनि गोपी शर्मा जस्तो सामान्य मानिसले प्रेममा जातको प्रवाह नगर्नु र तल्लो जात भनिएकी केटीसँग विहे गरेर जात खोसिएको र सजाय पाउँदा प्रजातन्त्र आएपछि ससम्मान जात फिर्ता हुने तथा सानो र ठूलो जातपात नरहने गोपीले जेल सजाय काटिरहेका बेला गणेशमान सिंहका यस्ता कुराले गोपी जात जोगिने र च्यामे थर नलेख्नु पर्ने बाहुनै बन्न पाउने आशामा प्रजातन्त्रका लागि लडिरहेका सिंहलाई जेलबाट भगाउन सुरुङ खन्न थाल्छन्।

मानिसलाई जातव्यवस्थाको तहगत विभाजनमा सानो र ठूलो, स्वीकार्य र अस्वीकार्य बनाएर, अपमानित र प्रतिष्ठित हुनुपर्ने हाम्रो समाजको कुरूप चेहरा गोपीचा उपन्यासमा विश्व कुइकेलले उधाङ्गो पारिदिएका छन्। हिजो जसरी कथित तल्ला जातसँग विवाह गर्नेहरूलाई बहिष्कार गर्ने समाजले आज पनि उस्तै राणा कालिन साँढेका रूपमा लल्कारिरहेको छ वर्तमानको संविधान, गणतन्त्र, लोकतन्त्र, उन्नत सरकार र शासकहरूलाई। आजका मानिसहरूलाई तिमीहरू पनि हिजोका राणाका १९१० मुलुकी ऐनका क्रुर अमानवीय पाशविक दफाहरू हौ भनेर हैसियत देखाइ दिएका छन् उपन्यासकार विश्व कुइकेलले। यो उपन्यास ऐतिहासिक भए पनि यसको सान्दर्भिकता वर्तमानमा अझ बढी छ।

एउटा बाहुनको छोरो विद्रोही गणेशमान सिंहलाई जेलबाट भाग्न सुरुङ खनेको भेद खुलेपछि जात खसेर दलित बनाइएका कारण मृत्यु दण्डको सजाय पाउँछन्। जसलाई दलित समूदायको सहिद भनेर दानबहादुर विश्वकर्माको ‘शिल्पी समुदायको वृहत्त इतिहास’मा उल्लेख गरिएको छ। तर, उनको प्रेम संघर्षको दास्तान र प्रजातन्त्रका लागि गरेको बलिदान र सहादत धेरै कम उल्लेख भएको छ। सायद गोपी च्यामे नाम भएका कारण गैरदलित इतिहासकारहरूले उनको नाम सहिदको सूचिमा समावेश गरेका रहेनछन् भन्ने लाग्यो। इतिहासकार र तत्कालिन सरकारहरूले पनि गोपीलाई च्यामे ठानेर नै उनलाई सहिद मान्न नसकेको देखिन्छ गणतन्त्रका महामानवहरू दमाईसँग विवाह गर्नेसँग बोल्न चहादैनन्। यो उपन्यास च्यामे बनाईएका धेरै गोपीहरूको व्यथा हो।

त्यस्ता गोपीहरूलाई न्याय दिन सकेका उपन्यासकारको न्यायालय हो गोपीचा। इतिहासले ठगेकाहरूलाई साहित्यले न्याय गर्न सक्छ भन्ने उद्घोष हो गोपीचा। उपन्यास गोपीचाको आवरण पृष्ठ आकर्षकमात्र छैन गोपी शब्दको माथी राखिएको श्रीपेच वास्तवमै सात सालको जनक्रान्तिको श्रीपेचका हकदार गोपी शर्माबाट च्यामे बनाईएका प्रजातन्त्रको लागि प्राण उत्सर्ग गरेका गोपीहरू हुन् भन्ने सुन्दर सन्देस दिन्छ। यो उपन्यासले अन्यायमा परेका र ठगिएका पात्रहरूलाई पुरस्कृत र विभूषित गर्न सकेको छ। समय गजवसँग परिवर्तन भएको आभाष दिने उपन्यास हो यो। कुनै समयले उपेक्षा, अपमान, घृणा बहिष्कार गरेका पात्रहरूलाई सर्बोच्च सम्मान दिने वर्तमानको गरिमा बढाएको उपन्यास पनि हो।

पेज- १३७
मूल्री- ३७५/-
प्रकाशक- शिखा बुक्स

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  १२ : २० बजे

534
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।