Logo

अर्थ

अर्ग्यानिक लुगा व्यवसायमा जमेका जुम्ली दाजुभाइ



काठमाडौं- विदेशी फेसनले हामी सबैलाई छोएको छ। विदेशी फेसनमा रमाइरहेका कारण नेपालमै उत्पादित पोसाक प्रयोग गर्नेहरूको संख्या निकै न्यून रहेको छ। यही असहजताका बीचमा दुई दाजुभाइले नेपाली ब्रान्डका पोसाकमा जोड् दिइरहेका छन्। र, उनीहरूले त्यसैमा भविश्य खोजिरहेका छन्।

नेपाली बजारमा विदेशी लुगाको ठूलो दवदवा छ। नेपालमा उत्पादित लुगाहरूले राम्रो बजार पाउन सक्ने अवस्था छैन। यो चुनौतिलाई चिर्दै नेपाली पोसाकको बजार खोजिरहेका पात्र हुन्, जुम्लाका लली बुढा र धपाल विश्वकर्मा। उनीहरू अहिले नेपाली उत्पादनलाई बजारीकरण गरिरहेका छन्। उनीहरू गाउँबाट अर्ग्यानिककपडा ल्याइ सहरमा बेच्दै आइरहेका छन्। उनीहरूले यसरी व्यवसाय गर्न थालेको दुई वर्ष पुगेको छ।

उनीहरू नेपाली हातले उनेका सामानको व्यापार गर्छन्। भेडाको उन, अल्लो, सिस्नुबाट तयार पारिएका कोट, टोपीलगायत सामग्री जुम्लाबाट काठमाडौंसम्म ल्याएर उनीहरूले विक्री गर्दै आएका हुन्। काठमाडौंको जस्तो व्यस्त सहरका पसल-पसल डुलेर उनीहरूले सामान बेच्ने गरेका छन्।

ललीको घर जुम्लाको कनका सुन्दरी गाउँपालिका-३ हो। सानो छँदा आर्थिक अभावकै कारण उनले विद्यालय जान पाएनन्। सानैदेखि भेडा चराउने काम गर्दै घरको खर्च धानिरहेका ललीले आफूले विद्यालय जान नपाए पनि भेडा पालबाट कमाएको पैसाले भाइबहिनीहरूलाई पढाए। भाइबहिनी पढेर जागिरे भए। गाउँ छाडेर सहर पसे। तर, उनलाई गाउँको मोहले छोडेन।

गाउँमा बसेर ललीले खेतिपातीबाट ठिकै आमदानी गरिरहेका थिए। तर, त्यो आम्दानी अपेक्षाकृत र सन्तुष्ट गर्नसक्ने खालको थिएन। तरकारी खेति गरे पनि कोल्डस्टोर नहुँदा कहाँ राख्ने भन्ने समस्या हुन्छ। भनेकै समयमा बजार पनि पठाउन सकिँदैन। यी र यस्ता अनेक दु:ख भोग्नु पर्ने तथा मनग्य आमदानी नुहने भएपछि उनले यो व्यवसाय रोजेका हुन्।

‘गाउँमा कोल्ड स्टोर भएको भए आलुलाई स्टोर गर्न हुन्थ्यो। त्यहि पैसाबाट घरखर्च हुन्थ्यो। २० कुइन्टल आलु हुन्छ। असोजमा खाल्टो खनेर आलु राख्नुपर्छ। निकाल्दा धेरै आलु सडिसकेका हुन्छन्। आलु विक्रीका लागि जुम्लादेखि कालिकोट पुग्नुपर्छ। आलुको मूल्य केजीको ५० रुपैयाँ हुन्छ। सिमी, गोभी पनि २० रुपैयाँदेखि ४० रुपैयाँसम्म बिक्रि हुन्छ। पोहोर साल त बन्दा गोभी विक्री नै भएन। काटेर खरायोलाई खुवाउनु पर्‍यो। त्यसैले म यो पेसाबाट विस्तापित भएको हुँ,’ उनले सुनाए।

जीन्दगी संघर्ष हो। संघर्ष गरेर ललीले सफलताको फूल फुलाइरहेका छन्। तपाईंले जीन्दगीलाई कसरी बुझ्नु भएको छ भनेर सोध्दा उनी भन्छन्, ‘माथिका माण्ठा हेर्‍या आफू माण्ठा होइन लाग्दो। आफूभन्दा तल्लो स्तरका माण्ठा हेर्‍या ठिकै भनि चित्त बुझाउँदो छु।’

लली उमेरले ४० वर्ष पुगे। उनको चार जनाको परिवार छ। आफूसहित दुई छोरा र श्रीमती छन्। उनका छोरा कक्षा ३ र ४ मा पढ्छन्। तिनै सन्तानको रहर पुरा गर्न हातबाटै निर्मित पोसाक बोकेर लली अचेल सहर झर्ने गरेका छन्।

ललीलाई जागिर गर्न एक जना भए पुग्ने र पेडा पाल्न परिवारका सबै सदस्य बेस्त रहनु पर्ने उनी बताउँछन्। ‘एक जना भेडाको अघि हिँड्नुपर्छ। अर्को मान्छे भेडाको पछितिर लाग्नुपर्छ। भेडालाई रुखका डाला काटेर खुवाउन पनि एक जना रुखमा चढ्नुपर्छ। अर्कोले रुखका डाला झार्दा चोट नलागोस् भनेर मुनी बसेर ध्यान दिनुपर्छ। ललीले २०७७ सालसम्म दु:ख सुख गरेर भेडा पाल्ने गरेका थिए। यतिबेला भने उनले भेडा पाल्न छोडिसकेका छन्।

सानै उमेरदेखि भेडा पालन गर्दै आइरहेका ललीले भेडा पाल्न कम दु:ख भने गरेका थिएनन्। उनी भन्छन्, ‘भेडालाई जुकाको औषधि लिन जुम्ला गाउँबाट खलंगासम्म हिँडेर जानुपर्थ्यो। अहिले त गाउँमा पालेका भेडाको डेटा लिन गाउँमा कर्मचारी आउँछन्। जुकाको औषधि ल्याइदिन्छन्। अहिले पहिलेको भन्दा सहज छ। भेडा पालेर पनि खान पुग्दैन। भेडा पालेर बच्चाहरूलाई विद्यालय पढाउन, अन्न किन्न, लुगा फाटा किन्न असहज हुन्थ्यो। अन्नमा कोदो, मकै, जौं, गहुँ, चामल थोरैमात्र हुन्छ। त्यसैगरी आलुलगायत तरकारी प्रसस्त मात्रामा हुन्छ। स्याउँ, ओखर, आरु उत्पादन हुने भए पनि राम्रो मूल्यनै पाउँदैनन्। जीवन आधा उमेर जति भेडा पालेर वित्यो। उन्नती केही भएन। त्यसैले यो पेसा अंगालेको हुँ।’

अल्लो, भेडाको उन र कटन मिलाएर कोट तयार गरिने उनले बताए। घर नजिकै आफैँ उम्रिने विरुवा अल्लो, सिस्नु र भेडाको उनलाई मिलाएर उनले अर्ग्यानिक लुगा बनाउँदै आएका छन्।

सुरुमा अल्लोलाई काटेर उमाली त्यसबाट धागो बनाएपछि त्यसको लुगा बनाउने गरिन्छ। लुगा अल्लो हुँदैन त्यसमा भेडाको उनलाई पनि मिलाएर बुन्ने गरिन्छ। सुरुमा उनले एक कम्बल बुनेका थिए। एउटा कम्मबल बुन्न लाग्ने समय ४ देखि पाँच दिनसम्मको हुन्छ। चाडै बुन्नेले ४ दिन र ढिलो भएमा ५ दिन लाग्ने गरेकी उनी बताउँछन्।

कोट बनाउन एक महिना लाग्ने गरेको उनले सुनाए। एक कोटको मूल्य ८ देखी १० हजारसम्म हुने गरेको उनले बताए। त्यही कोट बेच्न काठमाडौंसम्म आउन १० हजार खर्च हुनेगरेको उनको तितो अनुभव छ। कनका सुन्दरी गाउँपालिकाबाट सुर्खेतसम्म आउन उनको २५ सय खर्च हुन्छ। सुर्खेतदेखि काठमाडौंसम्म आउन उनले फेरी २५ सय खर्च गर्नुपर्छ। बाटोमा खानमात्रै उनको पाँच हजार खर्च हुन्छ। आफूले उत्पादन गरेको समान सरकारले सिँधै गाउँबाट निर्यात गर्ने भए निकै सहज हुने उनको बुझाइ छ।

त्यसैगरी धपाल विश्वकर्माको उमेर ६० वर्षका पुग्यो। उनी सयुक्त परिवारमा बस्दै आएका छन्। बौद्धमा एक कोठा भाडामा लिएर बस्दै आइरहेका उनको परिवारले कोट बनाउने काम गर्छ। घरका सबै सदस्यहरुले मिलेर महिनामा १० कोट जति तयार पार्छन्।

उनीहरूले अल्लोका टोपी पनि बनाउँदै आएका छन्। कोटलाई व्यवसायको रूपमा अगाडी बढाइरहेका धपाल जुम्लामा बनेका कोट पनि खरिदगरी काठमाडौंसम्म ल्याउने गर्छन्। उनले दुई वर्ष यता उक्त व्यवसाय गरिरहेका हुन्। टोपी र कोटसँगै उनले विभिन्न जडिबुट्टी पनि बेच्ने गरेका छन्। सिलाजित, हिङ्, हिमाली जडिबुटीको तेल, केशर, यार्सागुम्बालाई पनि उनले बेच्ने गरेका हुन्।

विद्यालयमा अध्ययन गर्न नपाएकै कारण अहिले आफू यो व्यवसाय गर्न बाध्य भएको उनको भनाइ छ। मंसिर काठमाडौं आएर उनी वैशाखमा जुम्ला फर्किन्छन्। उनले आगामी दिनमा पनि यस व्यवसायलाई अगाडि बढाउने बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ०७:४९   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।