Logo

प्रमुख समाचार

स्वस्थ मिर्गौलाका लागि पर्याप्त पानी सेवन गरौं : डा. पवनराज चालिसे



शरीरलाई स्वस्थ राख्न लागि सबै अंग फिट हुनुपर्छ। स्वस्थ जीवनका लागि सबै अंगको उत्तिकै भूमिका हुन्छ। कुनै एक अंगमात्रै बिरामी परेमा सिंगो स्वास्थ्यमा असर पर्छ। त्यसैले बेला-बेला स्वास्थ्य जाँच गरिरहनुपर्छ।

हाम्रो शरीरका अंग मध्य मिर्गौला एक महत्त्वपूर्ण अंग हो। मिर्गौलाले शरीरका विकार बस्तुहरूको फिल्टर गर्ने काम गर्छ। त्यसैले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार लाई विश्व मिर्गौला दिवसका रूपमा मनाउने गरिन्छ। दिवसमा मिर्गौला शरीरका लागि कति महत्त्वपूर्ण छ र यसलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने बारेमा मानिसहरूलाई सचेत गराइन्छ। शरीरको रगत मिर्गौलामार्फत दिनमा धेरै पटक परिसंचरण हुन्छ। एक दिनमा मिर्गौलाले करिब १४२ लिटर रगत फिल्टर गर्ने अध्ययनले देखाएको छ।

ग्लोमेरुलीमार्फत फिल्टर हुने अधिकांश पानी र अन्य पदार्थहरू ट्युब्युलहरूद्वारा तपाई रगतमा फर्किन्छन्। करिब १ देखि २ लिटरमात्र पिसाब बन्छ। आज हामीले मिर्गौलाको स्वास्थ्यमा कसरी ध्यान दिने भनेर अनलाइन पानाका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पवनराज चालिसेसँग संवाद गरेका छौं।

नेपालमा मिर्गौलाका रोगी बढ्दै गएको अवस्थामा मिर्गौलालाई कसरी स्वस्थ राख्न सकिन्छ?

मिर्गौला मानव शरीरको निकै महत्त्वपूर्ण अंग हो। किनकि यसले फिल्टर गरेर हाम्रो शरीरको विकार तत्त्व फाल्ने काम गर्छ। विकार जमेमा शरीरलाई निकै घातक हुन्छ। त्यसैले मिर्गौलाको स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ। सबभन्दा पहिला मिर्गौला के-के कुराले बिग्रिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा हुने पत्थरी र जन्मजात मुत्रनलीमा कुनै समस्या भएमा त्यसले मिर्गौला बिगार्छ। मिर्गौलासम्बन्धी समस्याबाट बच्न प्रशस्त मात्रा पानी प्युनुपर्छ।

मिर्गौलालाई आफ्नो काम गरिरहन र विकार पदार्थ फाल्न पानीको आवश्यकता पर्छ। स्वस्थ मान्छेले दिनमा डेढदेखि दुई लिटर पानी पिउनुपर्छ। गर्मीमा वा पसिना बग्नेगरि काम गरेको समयमा अझ बढी पानी पिउनुपर्छ। पिसाब पहेँलो हुनु हुँदैन। पानी जस्तो सेता हुने गरी पानी पिउनुपर्छ। त्यसले शरीरमा पानीको मात्रा पुगेको भन्ने जानकारी दिन्छ। अर्को कुरा उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ। एक पटक औषधि सेवन गर्दा जीवनभर सेवन गर्नुपर्छ भनेर मान्छे प्रेसरलाई माथि नै राखिरहेका हुन्छन्। त्यो मिर्गौलाका लागि निकै घातक हुन्छ। त्यसले मिर्गौलालाई बिगार्छ।

सुगरलाई पनि नियन्त्रणमा राख्नुपर्छ। दैनिक व्यायाम गर्नुपर्छ। आहारमा विशेष ध्यान दिनुपर्छ। अर्को कुरा ज्यु दुख्यो भनेर मानिसले अनावश्यकरूपमा औषधिको सेवन गरिरहेका हुन्छन्। त्यस्तो गर्नु हुँदैन। त्यो मिर्गौलाका लागि निकै घातक हुन्छ। धेरै पोसिलो खाना पनि मिर्गौलाका लागि हानिकारक हुनसक्छ।

कतिपय मान्छेमा सुगर प्रेसरको औषधि धेरै खाँदा पनि मिर्गौला बिग्रिन्छकि भन्ने भ्रम हुन्छ नि है?

हो त्यो भ्रम पाइन्छ। औषधि नखाँदा मिर्गौला बिग्रिने हो। यो औषधि खाँदा खाँदै पनि कन्ट्रोल राम्रो भएन भने मिर्गौला बिग्रिन्छ। रोगकै कारणले मिर्गौला बिग्रिन्छ। रोग रोक्नका लागि मान्छेले औषधि खाने हो। तर, कतिपय अवस्थामा औषधिले मिर्गौला बिग्रिन्छ भन्ने उल्टो बुझाइ पनि पाइन्छ।

धुमपान, मद्यपान र अन्य पेय पदार्थले पनि मिर्गौलालाई असर गर्छ नि?

एकदमै असर गर्छ। अहिले युवाहरूको खाडी जाने क्रम बढ्दो छ। त्यहाँको गर्मीले मानिसले कोकाकोला, फ्यान्टा बढी पिउँदा रहेछन्। उनीहरूको ज्यू नेपालका लागि अनुकूल हो। खाडीमा धेरै पसिना बग्छ। पर्याप्तमात्रामा पानी नपिउँदा खाडी पुगेका नेपालीको मिर्गौला बिग्रिएको पाइएको छ। धेरै मान्छेले मिर्गौला बिग्रिएकै कारण नेपाल फर्किएको पाइएको छ। विदेशमा रहेका मानिसलाई पनि कोक, फ्यान्टाको साटो पानी पिउन म सुझाव दिन्छु। स्वस्थ मिर्गौलाका लागि नियमित पर्याप्त पानी पिउनु नै बुद्धिमत्ता हुन्छ।

त्यसो भए स्वस्थ मिर्गौलाका लागि के गर्नु उपयुक्त हुन्छ?

धुमपान, मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, आहार विहारमा ध्यान दिने, पानी प्रशस्त मात्रामा पिउने मानिसको मिर्गौला स्वस्थ नै रहन्छ।

मिर्गौला बिग्रिएको थाहै भएन, अस्पताल पुग्दा ड्यामेज भइसकेको रहेछ भन्ने बिरामीको गुनासो पनि सुनिन्छ, मिर्गौला बिग्रिएको कसरी थाहा पाउने?

मिर्गौलाले ८० प्रतिशत काम गर्दासम्म समस्या थाहा हुँदैन। त्यसैले नियमित चेकजाँच गरिराख्नुपर्छ। एउटा पिसाबको सामान्य चेकजाँचले धेरै कुरा थाहा हुन्छ। पिसाबमा प्रोटिन गए नगएको, अरू समस्या भए नभएको पिसाबको सामान्य जाँचले नै थाहा हुन्छ। भिडियो एक्स-रे गर्नुपर्छ। यसले मिर्गौला बिग्रिए न बिग्रिएको समयमै थाहा पाउन सकिन्छ। धेरै मान्छे समयमै मिर्गौला सम्बन्धी समस्या थाहा पाएर निको पनि भएका छन्। बेलैमा सचेत हुँदा ठूलो जोखिमबाट बच्न सकिन्छ।

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  ११ : ३७ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।