धनगढी- सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षणका लागि प्रदेश सरकारले ऐन बनाउनु पर्ने माग संस्कृतिका चिन्तकले गरेका छन्।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आइतबार धनगढीमा भएको समाज रुपान्तरणमा देउडा लोकसाहित्य प्रवर्धनात्मक संवादमा सो माग गरिएको हो। सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा डेउडा एउटा संस्था भएको बताउँदै यसलाई बलियो बनाउनु पर्ने बताए।
प्रदेशसभाका अर्का सदस्य सन्तोष शर्मा थापाले आफूले कार्यक्रमबाट धेरै सिक्न पाएको बताउँदै विगतमा यसरी डेउडाबारे व्यापक छलफल नभएको बताए। डेउडा बचाउन आफूहरूले सक्दो प्रयास गर्ने पनि उनले प्रतिवद्धता जनाए।
डेउडाको अध्ययन गरिरहेका डिलादत्त पन्तले प्रदेश सरकारले ऐन बनाउँदा पालिकाले डेउडाको संरक्षणमा काम गर्ने वातावरण बन्ने बताए। उनले सुदूरपश्चिम र कर्णाली प्रदेशका विद्यालयमा समेत डेउडा कार्यक्रम नियमितरुपमा चलाउनु पर्ने बताए।
उनले डेउडाको दस्तावेजीकरण नभएकाले लोप भएर जाने अवस्था आएको बताउँदै आफूहरुले त्यसको दस्तावेजीकरण गर्न युनिभर्सिटी दि क्रियटिभ आर्टस, युकेसित काम गरिरहेको बताए।
कार्यक्रममा धनगढीका पूर्व नगरप्रमुख खेमराज पाण्डेय, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. हरिस भट्ट, साहित्यकार हेमन्त विवस, पद्मराज जोशी, गीतकार राजेन्द्र शाह ‘विपी’ लगायतले डेउडा संरक्षणबारे बोलेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्यहरू धर्मराज पाठक, मेघराज खड्का लगायतको पनि सहभागिता थियो।
साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यबारे पत्रकार गोविन्द खड्काले प्रकाश पारेका थिए।




















प्रतिक्रिया