Logo

मनोरञ्जन

गृहमन्त्रीले हेरे ‘महाजात्रा’, तीन दिनमा कमायाे ४ करोड २६ लाख



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फिल्म ‘महाजात्रा’ हेरेका छन् ।

पत्नी निकिता पौडेलसँग हल पुगेका लामिछानेले भने–‘मलाई यो श्रृङ्खलाका अघिल्ला २ फिल्म पनि निकै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रवीन्द्र झाको फ्यान नै हुँ । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हलमै आएर हेर्नुपर्छ ।’

फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको बताउँदै लामिछानेले राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताए ।

गत शुक्रबारदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्मले राम्रो व्यापार गरिरहेको छ । कार्यकारी निर्माता एवं अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई बढी रूचाएको प्रतिक्रिया पाएको बताए । उनका अनुसार फिल्मले तीन दिनमा ४ करोड २६ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ ।

पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन १ करोड ८२ लाख र तेस्रो दिन १ करोड २० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ । फिल्मले बक्स अफिसमा १० करोड माथिको ग्रस कलेक्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १३:०८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।