काठमाडौं- चिना रेखा केइ देखाउन्न
म भाग्य फेरौंला
तिमी बिहान साँझ मेरो
तिम्रै बाटो हेरौंला…
नेपाली संगीत प्रेमीहरू माझ माथि उल्लेखित लोकप्रिय शब्द हुन्। यी शब्द ऊनको स्विटर फिल्मका लागि तयार पारिएको फूल गीतका केही हरफ हुन्। जुन शब्द पछिल्लो समय एकदमै लोकप्रिय छन्।
धेरैको जीवनसँग मेल खाने भएरै होला गीतको अंशले अहिले निकै चर्चा पाइरहेको छ। फेसबुक, इन्स्टाग्रामलगायत विभिन्न सामाजिक सञ्जाल खोल्ने बित्तिकै यही गीतका क्लिपहरू प्रशस्त सुन्न सकिन्छ । गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीत एक महिनामै युट्युबमा ४.४ मिलियनले हेरिसकेका छन् । नवीन चौहानको निर्देशनमा बनेको भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छन् । यसका सर्जक हुन् गीतकार हर्क साउद ।
एकदमै चर्चा कमाएको सुन साइँली गीतबाट स्थापित हर्कको यस गीतले पनि अहिले उत्तिकै चर्चा बटुलिरहेको छ। सुन साइँलीको सफलतापछि ठूला ब्यानरका फिल्ममा समेत हर्कका गीतको माग बढ्दो छ। उनले प्रेमगीत-३ को ‘हात्ती ढुंगामा’, क्याप्टेनको ‘कर्ली कर्ली कपाल’, साइँलीको ‘नाच माया’ र ‘प्याटप्याटे चप्पल’, कबड्डी कबड्डी कबड्डीको ‘दुबो फुल्यो’, बटौलीको ‘ के माया लाग्छ र ?’ लगायत थुप्रै चर्चित गीत लेखेका छन्।
सूदुरपश्चिमको डोटीबाट अध्ययन गर्न काठमाडौं पाइला टेकेका हर्कले गीतकार बन्ने सपना कहिले देखेका थिएनन्। यदि देख्थे भने त्यो समयमा उनलाई सपना पूरा गर्न सजिलो थिएन। सरस्वती क्याम्पसबाट प्रमाणपत्र तह पुरा गरिसकेपछि उनी त्रिचन्द्र क्याम्पस भर्ना भएका थिए। बिहान कलेज गएर दिउँसो समयमा कमलादीको एक रेस्टुरेन्टमा काम गर्न जान्थे। बिहान कलेज जाने, दिउँसो काम गर्ने र राति लोकसेवाका किताब पढेर उनको दैनिकी बितिरहेको थियो ।
यसरी नै उनले ६ वर्ष बिताइदिए। तर, लोकसेवा पास गर्न सकेनन्। अन्ततः उनले आफ्नो योजना फेर्ने निर्णय गरे। हर्कले क्याफे खोल्ने योजना बनाए। र, साथीहरूसँग मिलेर बागबजारमा क्याफे खोले। उनी भन्छन्, ‘सरकारी जागिर सानोतिनो मिहिनेतले नहुने रहेछ। त्यति बेला आफ्नै तरिकाले पढियो । किताबमात्रै पढेँ। कुनै तयारी कक्षा लिइनँ। त्यसैले पनि नाम निकाल्न सकिनँ झैँ लाग्छ। अहिले त प्रविधिले पढ्ने तरिका फरक भएको छ।’
तर, अहिले लोकसेवाको तयारी गर्नेभन्दा पनि सहरमा विदेश जानको लागि तयारी गर्न आउनेहरू धरै भेटिने उनी बताउँछन्। व्यवसायसँगै संगीत प्रेमीहरूलाई मन छुने गीत दिएर दर्शकमाझ चर्चा बटुलिरहेका हर्क अहिले पनि क्याफेमै भेटिन्छन्।
धेरैले गीत लेख्छन्। कतिका हिट हुन्छन्, कतिका फ्लप हुन्छन्। तर, हर्कको सन्दर्भमा भने त्यस्तो छैन। सुरुदेखि नै उनले एकपछि अर्को हिट गीत दिइरहेका छन्। पहिलो पटक गीत हिट हुँदा र अहिले गीत हिट हुँदा कस्तो महसुस भइरहेको छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘पहिलो पटक गीत हिट हुँदा एक्साइटमेन्ट बढी थियो। अहिले गीत हिट हुँदा आफूलाई थप जिम्मेवार महसुस हुन्छ।’
अहिले चर्चामा रहेको गीत फूल कुन सन्दर्भमा लेख्नु भएको हो भन्ने प्रश्नमा उनि भन्छन् , यो गीत ऊनको स्विटर फिल्मका लागि तयार पारिएको हो । मानिसहरूलाई प्रेम विवाह गर्न जात, धर्मले रोकिरहेको समाजमा विकराल बन्दै गएको छ। गीतमा प्रेमीले प्रेमिकालाई जुन सुकै जात, धर्म भए पनि मलाई तिमि स्वीकार्य छ भनी देखाउन खोजेको उनले बताए। प्रेममा एक किसिमको समर्पणपूर्ण शब्द गीतमा रहेको उनले बताए। आर्टमाण्डु टिमबाट स्टोरी आएपछि सोही अनुरूप गीत तयार पारेको उनले बताए ।
उनले गीतमा सुदूरपश्चिममा बोलिने शब्दहरू पनि प्रयोग गरिरहेका हुन्छन्। ‘ आफ्नो ठाउँको भाषालाई अगाडी ल्याउन उनले सक्दो प्रयास गरिरहेका हुन्छन्। झुमा लिम्बुको बौझु बौझु, टंक तिमिल्सिना र रेखा जोशीको लै लै गीत, त्यसपछि चिसो मान्छे र प्रकाश फिल्मका गीतमा पश्चिमका शब्दको प्रयोग गरेको छु,’ उनले भने।
पश्चिम भाषा र संस्कृतिमा निकै उर्वर भूमि रहेको उनले बताए। सुदूरपश्चिमका प्रत्येक जिल्लामा फरक-फरक भाषा, संस्कृति रहेकोमा जिल्ला अनुसार विभिन्न उत्सव हुने र ती उत्सवमा विभिन्न खाले गीत गाइने भएकाले पनि पश्चिम भूमि उर्वर रहेको उनी बताउँछन्।
‘मेरो पुर्ख्यौली घर अछाम हो। बसाइ सरेर हामी डोटी आयौं। मेरो हुर्काइमा अछाम र डोटीको संस्कृति मिसिएको छ। म डोटीको बडिकेदार गाउँपालिकामा जन्मिएँ । त्यही हुर्किए। मेरो गाउँमा थुप्रै समुदायका मानिसहरूको बसोबास रहेको छ। त्यही सप्तरंगी संस्कृति छन्। ती संस्कृतिसँग निकट भएकै कारण मलाई शब्द सिर्जनामा बल पुग्ने गरेको छ,’ उनले भने।
तपाइका गीत हिट हुनुको कारण ? सुन्नेले मन पराइदिनु भएको छ र साथै हाम्रो आर्टमाडौं टिमको मिहिनेत पनि हो। लेख्दै जाँदा आफ्नो तरिकाले गीत तयार गरिन्छ कहिलेकहीँ भिडियो खिचिसकेपछि पनि शब्दहरू चेन्ज गर्ने गरिन्छ।
उनी गीत लेख्दा मनमा कथा बुन्छन्। मिठो परिकल्पना गर्छन्। त्यसपछि शब्द केलाउँछन्। र, हृदयबाट निस्किएका शब्दहरूलाई कपिमा टपक्क टिप्छन्। कसैले फिल्मका लागि गीत लेख्न आग्रह गर्दा पनि उनी सुरुमा कथावस्तु अध्ययन गर्छन्। त्यसपछिमात्र गीतका शब्दबारे मन्थन गर्छन्। यसरी गहनताका साथ जन्मिएका हर्कका शब्द निकै बलिया हुने गरेका छन्।’
हर्क पुस्तक अध्ययनमा पनि विशेष चासो राख्छन्। मौका मिल्ने बित्तिकै उनी पुस्तकहरू अध्ययन गर्छन्। यसले आफ्नो शब्द सिर्जना र शाब्दिक ज्ञानमा टेवा पुर्याउने हर्कको बुझाइ छ। हाल सन्तोष सिनको फिल्मका लागि पनि गीत लेखनको कार्य गरिरहेका छन्। उनले आगामी दिनमा पनि व्यवसायसँगै आफ्नो यस कर्मलाई निरन्तरता दिने बताएका छन्।





















प्रतिक्रिया