…. शिरैमा सिन्दूर आहा
गलामा पोते आहा ।
धोती र चोली आहा
घुम्टो र डोली आहा ।।
छम् छम् हातैका चुराले
रम् झम् रातैका कुराले
म बाँधिएकी हुँ या सजिएकी हुँ ।।
बुझिन मैले बुझाइदेउ कसैले……..
यतिबेला यो गीतले चार दिनमा ७ दशमलव ४४ मिलियनभन्दा बढी भ्यूज टेकेको छ ।
गायक प्रकाश सपूतको शब्द, रचना तथा संगीत रहेको यो गीतलाई समीक्षा अधिकारीले गाएकी हुन् । निर्देशक सुलक्षण भारतीको लेखन, निर्देशन साथै केकी अधिकारीको अभिनय र निमार्णमा बनेको चलचित्र ‘बोक्सीको घर’को लागि बनेको यो गीतले चलचित्र हेर्नका लागि दर्शकहरुलाई लोभ्याइसकेको छ । चलचित्र ‘बोक्सीको घर’ भने आगामी वैशाख १४ गते रिलिज हुदैँछ ।
विगत डेढ दशकदेखि चलचित्रमा अभिनेत्रीको रूपमा सक्रिय केकी अधिकारी पछिल्लो समय निर्माताको रूपमा पनि स्थापित हुँदैछिन् । कोहलपुर एक्सप्रेसबाट निर्माणमा होमिएकी केकी अहिले चलचित्र ‘बोक्सीको घर’को प्रचारमा व्यस्त छिन् ।
चलचित्रको इतिहासलाई हेर्ने हो भने चलचित्र निर्माणको शुरूवातकै क्रममा महिलाहरू निर्माताका रुपमा देखिएका छन् । नेपाली चलचित्रकी प्रथम महिला निर्माताका रुपमा मन्जु राणालाई लिइन्छ । उनले जुनी चलचित्र निमार्ण गरेकी थिइन् । निर्माता राणापछि सुमित्रा पौड्याल र मालती राई चलचित्र निर्माताका रूपमा अगाडि आएका थिए । तर दुर्भाग्य यी निर्माताहरू लामो समयसम्म चलचित्र क्षेत्रमा टिक्न भने सकेनन् ।
पछिल्लो समय रेखा थापा, झरना थापा, दिपाश्री निरौला , निता ढुङ्गाना, सम्पदा मल्ललगायतका महिलाहरू चलचित्र निर्माणमा सक्रिय देखिएका छन् । चलचित्र निर्माताको रुपमा अहिले केकी अधिकारी पनि मैदानमा उत्रिएकी छिन् । वर्तमान समयमा नेपाली सिनेमा निर्माणको क्षेत्रमा महिलाहरूको प्रवेशलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
अभिनेत्रीको रूपमा अब्बल अभिनयको क्षमता बनाएकी केकीले निमार्ण गरेको पहिलो चलचित्रले भने व्यवसायिक सफल धेरै दिएन । तर पनि उनले हरेश खाइनन् र अर्को नयाँ चलचित्र ‘बोक्सीको घर’ निर्माण गरिन् ।
उनै अधिकारीसँग बैशाख १४ गते रिलिज हुने चलचित्र ‘बोक्सीको घर’ निर्माणबारे अनलाइन पानाकी संवाददाता भूमिका के. विष्टले कुराकानी गरेकी छिन् । पछिल्लो चलचित्र निर्माणको बारेमा अभिनेत्री केकी अधिकारीसँग गरिएको सम्बादको सम्पादित अंश यस्तो छ…..
व्यवसायिक रूपमा तपाईंले निर्माण गरेको चलचित्रले व्यवसायिक सफलता खासै दिन सकेन । फेरि पनि किन चलचित्र निर्माताको रुपमा देखिनुभएको हो ?
हाम्रो समस्या भनेको हामीले जे सुनेका छौं । त्यही कुरामा अल्झिन्छौं । मैले अभिनय गरेका चलचित्र धेरै असफल भए होलान् तर मैले अभिनय गर्न छाडिन् । त्यसैगरी मैले निमार्ण गरेका चलचित्रलाई असफल नै त भन्न मिल्दैन । मैले आफनो सफलताको मापदण्ड बक्सअफिसलाई बनाएको छैन ।
मेरा सफलताका मापदण्ड भनेको मेरो काम गर्ने उर्जा सधैँ रहिरहनु हो । उर्जा तब रहिरहन्छ, जब मलाईँ यस्ता खालका प्रश्न आउँदैनन् । सफलता र असफलता दुवैलाई मैले स्वीर्कन जानेको छु । किनभने सुख दुःख दुवै केही समयका लागि हुन्छ । सधैँभरी रहिरहने भनेको राम्रो काम हो । त्यसकारणले पनि ‘बोक्सीको घर’ चलचित्र निर्माण आटेकी हुँ ।
‘बेक्सीको घर’ के मा आधारित चलचित्र हो ?
बोक्सीको घर सामाजिक कथा हो । महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको खबर अझै पनि आइरहन्छन् । लैङ्गिक असमानता, अन्धविश्वास, चेतनाको कमी र अशिक्षाकै कारण यस्ता घटनाहरू भइरहेका छन् । हामीमा अझै पनि यस्ता किसिमका अन्धबिश्वासहरूले ठाउँ लिएका छन् जुन चिज नहुनुपर्ने हो ।
तर आजको समयसम्म पनि हाम्रै समाजमा महिलालाई बोक्सी बनाइएका घटनाहरू घटिरहेका छन् । यिनै घटनाहरूलाई चलचित्रको पर्दामार्फत देखाउन खोजेको चलचित्र हो । यो एक ‘साइको सोसियल जेनरा’मा बनेको चलचित्र हो ।
सामाजिक समस्यामा अधारित कथा नै किन छान्नुभयो ?
महिलाका विषय, लैङ्गिक विभेदका विषय उठाएका कथा सुन्न/हेर्न मलाई एकदमै मन पर्छ किनभने हाम्रो समाज जति अगाडि बढेपनि महिला माथि हुने हिंसा भने अझै कम भइरहेको देखिँदैन । यस्तै विषय उठान गरेको नाटक मैले २०१६ मा हेरेको नाटक थियो– ‘बोक्सीको घर’ ।
पहिले नै नाटक बनिसकेकोमा किन फेरि चलचित्र बनाउनु भयो त ?
बोक्सीको घर नाटक हेरिसकेपछि मलाई त्यतिखेर नै यो नाटकलाई चलचित्रको रूपमा ल्यायो भने धेरै मानिसमा यो विषय पुग्छ भन्ने लागेको थियो । किनभने कथाले समाजलाई बलियो ‘म्यासेज’ दिएको थियो ।
जुन मैले थिएटरका दर्शकमा मात्रै सीमित राखेर हुँदैन । यसलाइ चलचित्रको पर्दामा देखाउदा अरू दर्शकहरुले पनि हेर्न पाउँछन् भन्ने लागेको थियो । त्यसैले यो चलचित्र निमार्ण गरेको हुँ ।
‘मेनस्ट्रिम’मा काम गरिरहनु भएको थियो । फेरि यो थिएटर नाटक बनिसकेको विषयवस्तुमा किन आफैँले अभिनय गर्नुभयो ?
‘आर्टिस्टिक’ चलचित्र होस् या ‘कर्मसियल’ चलचित्र वा ऐलिमेन्ट्सहरू धेरै भएको चलचित्र होस् । मैले सबै खालका चलचित्रहरूमा काम गरिरहेको छु । यसअघि पनि परदेशी–२, जुन एकदमै कर्मसियल चलचित्र हो ।
त्यसैगरी मसानजस्तो ‘आर्टिस्टिक’ चलचित्रहरूमा पनि मैले काम गरिसकेको हुनाले मलाई दुवै किसिमको चलचित्रमा काम गर्ने मोह छ । ‘आर्टिस्टिक’ चलचित्रले दर्शकको मन जित्यो भने त्यो आफैँमा कर्मसियल भइ नै हाल्छ ।
फिल्ममा तपाईँ कस्तो पात्रको भूमिकामा हुनुहुन्छ ?
अहिलेसम्म कुनै पनि चलचित्रमा नदेखिएको पात्रमा छु । यसअघि योभन्दा बलियो पात्रमा अभिनय गर्न पाएको थिइँन । यो सायदै पाउन मुस्किल होला तर म चाहान्छु । यस्तै बलियो पात्रमा अभिनय गर्न पाउँ । यो पात्र मभन्दा एकदमै फरक पात्र छ ।
यसमा हामीले धेरै मिहिनेत गरेका छौँ । ४ देखि ६ महिना ओर्कसप नै गरेका छौँ । यो पात्र हुनको लागि भिन्नै खालको अवाज र पात्रको चाल शारिरीक बनावट र पात्रको मनोदशा बुझ्नको लागि पनि मिहिनेत गरेका छौँ ।
चलचित्र अभिनयका लागि तपाईँले कपाल काट्नु भएछ नि ?
सामान्यतया कपाल त म काटी नै रहन्छु तर यसपालि चलचित्रकै लागि भनेर मैले मुण्डन नै गरेको थिए । कथाको पात्रले मागेअनुसार नै मैले कपाल मुण्डन गरेको हुँ । र, एक कलाकारको धर्म नै पात्रको नजिक भएर काम गर्न सकियोस भन्ने हो । यो चलचित्र गर्नुभन्दा अगाडि नै चलचित्रका निर्देशक सुलक्षण भारतीले अभिनय गर्ने पात्रले कपाल मुण्डन गर्नुपर्ने कुरा जानकारी गराइसक्नु भएको थियो ।
र, म त्यसका लागि तयार थिएँ । यसमा हामीहरूले ‘विग’ (नक्कली कपाल)को प्रयोग पनि गर्न सक्थ्यौँ । तर विग प्रयोग गरेर एक ‘इल्युजन’ देखांउनु भन्दा पनि दर्शकलाई पात्रको यर्थात देखाउन खोजेका हौँ । किनभने यो कथा कसैको जीवनको सत्य भोगाइ हो । यदी तपाईँले केही पल पनि त्यसलाई भोग्नु भएन भने तपाईँ यो पात्रको लागि तयार नै हुनुहुन्न भनेर निर्देशकले भने पछि म यसको लागि ‘कन्भेन्स’ भएको थिएँ ।
कति दिन र कहाँ कहाँ चलचित्रको सुटिङ गर्नुभयो ?
यो चलचित्र ३० दिन काभ्रेका विभिन्न ठाउँ, सिन्धुपाल्चोक र पनौतीमा सुटिङ भएको हो ।
तपाईँको नजरमा नेपाली सिने क्षत्रमा प्रवेश गर्न चाहानेहरुको भविष्य कस्तो देख्नु भएको छ ?
फिल्ममा आउन चाहानेहरूलाई धैर्यता एकदमै आवश्यक पर्ने र आउने बित्तिकै गरेका कामहरूले सोचे जस्तो प्राप्ति नहुन सक्छ । जसले दुःखी बनाउन सक्छ जसको लागि धैर्यता एकदमै चाहिन्छ । काम गर्दै जादाँ सफल भइन्छ नै ।
चलचित्र निमार्ण गरेपछि निर्माताको रूपमा यस क्षेत्रमा आउन चाहानेहरूको लागि अवस्था कस्तो देख्नु भएको छ ?
चलचित्र निर्माण गर्नको लागि ‘प्यासोनेट’ नै भएर आउनुपर्छ । किनभने अरू व्यवसाय जस्तो चलचित्र होइन । यो भनेको ‘अनप्रोटेकटेवल’ पनि छ । यहाँ लगानी गरेपछि कुनै बेला एक रूपैयाँ पनि नआउन सक्छ ।
र, त्यस्तो बेला आफूले नबुझेको र नचाहेको क्षेत्रभित्र यो पर्छ भने पैसा फिर्ता नआउँदा चित्त दुख्न सक्छ । आर्टलाई नै ‘प्यासन’ मान्नेहरूको लागि यो क्षेत्र लगानी योग्य हुन सक्छ ।





















प्रतिक्रिया