Logo

अर्थ

प्रक्रिया पूरा नगरी रुख काटेको अभियोगमा गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ विरुद्ध मुद्दा



पोखरा । कानुनविपरित विद्यालयभित्र रहेका रूख काटेर बिक्री गरिएको भन्दै गण्डकी बोडिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

प्रचलित वन ऐन विपरित विद्यालय परिसरमा रहेको रुख काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

सार्वजनिक गुठी सञ्चालन गरेको विद्यालयमा प्रक्रिया पूरा नगरी खेलकुद ग्राउण्ड, छात्राबास र स्कूलको कम्पाउण्ड वालसँग जोडिएका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूख काटिएको थाहा पाएपछि वन कार्यलयले मुद्दा दायर गरेको हो ।

डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले रुख कटान गरी उत्पादित दाउरा बिक्रीसमेत प्रचलित कानून बमोजिम नभएको जानकारी दिए । उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले बिक्री गरेको थियो ।

वन ऐन, २०७६ को दफा ४९ को उपदफा (घ) अनुसारको प्रध्यानाध्यापकसहितले कसूर गरी विगो मूल्य ३ लाख ७९ हजार ४ सय बराबरको वन पैदावार हानीनोक्सानी गरेको पुष्टि हुन आएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ ।

ऐनको दफा ५० को उपदफा १४ बमोजिम बिगो असुल गरी १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजायको मागदावी गर्दै डिभिजन वन कार्यालय कास्कीले चैत २७ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएका हुन् ।

वन कार्यालयले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित लोकबहादुर थापा, सोनी गुरूङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध मुद्दा दर्ता गराएको हो ।

प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार  १२ : ४१ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।