रौतहट — रौतहटको चन्द्रपुर–२ स्थित पूर्व-पश्चिम राजमार्गको लच्का नजिकै शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बसका चालक समेत घाइते छन् ।
जनकपुरबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको यात्रुवाहक बस राजमार्गको उत्तरतर्फ दुर्घटना हुँदा बसमा सवार ३२ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ। दुर्घटनामा परेर सर्लाही बरहथवा–४ का अकल बहादुर विक, बरहथवा–५ का रुबी बेगम र उनको छोरा मोहम्मद अली हुसेनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
रौतहटको चन्द्रपुर–१ का मानबहादुर परियार, सर्लाही हरिवन–१ का सुरज कुमार भुजेल, उनको श्रीमती रीता भुजेल र २ वर्षकी छोरी रिसुजा भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।
धनुषा जनकपुर–७ घर भएका बसका चालक राजकुमार मण्डलको बायाँ हातमा चोट लागेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । दुर्घटनामा परी घाइते ३२ जनाको चन्द्रपुर र सिभिल अस्पताल उपचार भइहेको छ । बस दुर्घटना हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
प्रतिक्रिया