Logo

मनोरञ्जन

किम्फको २१औं संस्करणमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुने



काठमाडाैं । आउँदाे जेठ १६ देखि २० गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’ को २१ औं संस्करण आयोजना हुने भएको छ ।

काठमाडौं महानगरपालिकाको सह आयोजनामा हुन गइ्हेको  किम्फ २०२४ मा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनी’ को नारा अन्तर्गत विविधताले भरिएका २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।

किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तगर्त वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश गरिएका छन् । यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरु प्रस्तुत हुनेछन् जसले समकालीन नेपालको कथा उजागर गर्नेछ ।

इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरबाट महोत्सव सुरु हुनेछ । नेपालमा छायांकन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ ।

महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूका अनुसार महोत्सवले आफ्ना चलचित्र र कार्यक्रमहरूको लाइन(अप मार्फत दर्शकहरूलाई मनोरञ्जन सँगसँगै नेपाली समाजलाई असर पार्ने विषयहरूमा आलोचनात्मक संवादमा संलग्न गराउने छ।

२०२४ को  किम्फमा एउटा मुख्य आकर्षण ‘एभरेष्ट रिभिजिटेड १९२४(२०२४ शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरूको प्रदर्शनी हुनेछ।

यसैगरी नेपाल(कोरिया मित्रताको ५० औँ वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुनेछ ।

किम्फ २०२४ को निर्णायकमण्डलमा निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्यान्ड) रहेका छन् । निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येवाट विजेता छनौट गर्नेछ ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ। नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले क्रमशः एक लाख रुपियाँ प्राप्त गर्नेछन् । यसैगरी दर्शक पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।

किम्फले चलचित्र निर्माता, चलचित्र प्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थितिमा अन्तर्क्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनी गर्नेछ।

महोत्सवमा ‘माउन्टेन्स म्याटर(अ कल फ्रम द हिमालयज’ शीर्षकको अन्तर्क्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँग को सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफलको आयोजना हुनेछन् । ‘च्याम्पियनिङ योङ फिल्म मेकर्स’– ब्रिटिस काउन्सिलसँग स्क्रिनिङ, प्यानल छलफल र फिल्म निर्माणसम्बन्धी अन्तर्क्रियात्मक प्रदर्शनी र कथाहरूसँग नेपाली वृत्तचित्रका लागि कट।कथा पिच हुनेछन्। स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन ९एसडीसी० को सहयोगमा नेपाली आख्यान र गैरआख्यान परियोजनाका लागि एडिट ल्याब रहनेछ।

‘किम्फ २०२४’ लाई स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन (एसडीसी), ब्रिटिश काउन्सिल, अमेरिकी दूतावास, फिल्म डेभलपमेन्ट बोर्ड (एफडीबी), नेपाल माउन्टेनरिङ एसोसिएसन ९एनएमए०, एमआईएलए प्रोडक्शन्स, पासाङ ल्हामु फाउन्डेसन, दया फाउन्डेसन, भ्वाइस अफ वुमन मिडिया ‘भाउ’, समकालीन कला नेपाल फाउन्डेसन, टोनी हागन फाउन्डेसन, बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय, हिमालय इन्टरनेशनल माउन्टेन फिल्म अफ चाइना ‘एचआईएमएफ’, जीआईजेड, डब्लुडब्लुएफ, आईसीआईएमओडी, नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठान, नर्थ फेस नेपाल, सोनाम, केटीएम सिटीको प्रयोजन तथा सहयोग प्राप्त छ।

गैरनाफामुखी संस्था किम्फ फाउन्डेसनद्वारा आयोजित यस महोत्सवको प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ । किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो । आईएएमएफमा २० देशका २८ संस्थाहरू सदस्य छन् ।

महोत्सवको टिकट र सिजनल पास खल्ती एपवाट प्राप्त गर्न सकिनेछ। टिकटको मूल्य एक सय पचास (विद्यार्थीहरूको लागि एक सय रूपैंयाँ) तोकिएको छ

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १५:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।