Logo

मनोरञ्जन

किम्फमा डोरबहादुर विष्टको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’



काठमाडाैं । २१ नेपालका विविध जातजाति र समुदायबारे अध्ययन अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर विष्ट नेपालकै बौद्धिक व्यक्तित्वमा गनिन्छन्। उनी मानवशास्त्री र साहित्यकारका रुपमा समेत चर्चित छन्।

२१ औं किम्फको दोस्रो बिहिवार नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक उनै डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र प्रदर्शन भयो। सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन्।

प्राज्ञिक कर्मसँगै सामाजिक रुपान्तरणमा समेत झुकाव भएका डोरबहादुर २०५२ पुस २७ देखि रहस्मयी रुपमा बेपत्ता छन्। जुम्लाबाट नेपालगञ्ज उडेर यात्रा गरेको खबरयता आजपर्यन्त उनी अलप छन्।

जीवित छँदा डोरबहादुर बेलाबखत भन्थे रे, ‘म अलप हुन चाहन्छु।’ निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई फिल्मको नाम दिइएको हो।

जुम्लाको चौधाबीसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्वपूर्ण काम गरेका थिए। उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन्। यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कयौं सन्दर्भ आएका छन्।

फिल्ममा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताहरुले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र निजी जीवनबारे प्रकाश पारेका छन्।

डोरबहादुरलिखित फ्याटलिज्म एन्ड डेभलपेन्ट र पिपुल अफ नेपाल नेपाली र विदेशी अध्येतामाझसमेत चर्चित छन्।

यसअघि नेपाल र नेपालबाहिरका महोत्सवहरुमा समेत प्रदर्शन भई रुचाइएको म अलप हुन चाहन्छु हेर्न राष्ट्रिय सभागृहमा उल्लेख्य संख्यामा फिल्मकर्मी तथा दर्शक उपस्थित थिए।

प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार  ४ : १० बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।