काठमाडाैं । विमानस्थलबाट दुई हजार आठ सय ३१ केजी सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको समूहका थप नौजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणमा अनुसन्धान गरी यसमा संलग्न थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
दुई साताअघि नै उनीहरूलाई पक्राउ गरे पनि गिरोहका थप व्यक्ति खोजी गर्न सिआइबीले उनीहरूको नाम गोप्य राखेको छ । पक्राउ पर्नेमा काभ्रेका थर्कमान (कान्छा) लामासहितका व्यक्ति छन् । लामा चिनियाँको निर्देशनमा काठमाडौंमा सुन ओसारपसार गर्ने व्यक्ति हुन् ।
पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार आठ सय ३१ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण र आधार भेटिएको सिआइबी स्रोत बताउँछ ।
हाल नौजनालाई थुनामा राखी सुन तस्करी प्रकरणमा अनुसन्धान भइरहेको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए । उनले भने, ‘सुन तस्करीमा संलग्न नौजना थुनामा छन्, मूलतः सुन तस्करीको पैसा कसरी विदेशमा लगियो भन्नेमा केन्द्रित भएर अनुसन्धान गरिरहेका छौँ ।’ स्रोतका अनुसार नेपालमा तस्करीको सुन बिक्री गर्नेदेखि सरकारी संयन्त्रको कमजोरी पत्ता लगाएर बैंकिङ प्रणालीमार्फत नै पैसा विदेश लैजाने व्यक्तिसम्म पक्राउ परेका छन् ।
‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा एक वर्षसम्म उनीहरूले सयौँपटक सुन तस्करी गरेको विवरण भेटिएको हो । गत वर्ष साउनदेखि सिआइबीले यसमा निरन्तर अनुसन्धान गरिरहेको छ ।
यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत वर्ष ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो ७१६ ग्राम सुन बरामद भएको थियो । सिआइबीले विशेषज्ञ र प्राविधिकसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २८ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको छ । उनीहरूले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मिसिनलगायत सामानभित्र लुकाएर सुन तस्करी गरेका हुन् ।
प्रतिक्रिया