काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पोल्याण्डको पीआर लिएको विषयमा पत्र पठाएको छ । नेपाली नागरिकतासँगै पोल्यण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न भन्दै केन्द्रले पत्र पठाएको हो ।
उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा एक भिडियो पोष्ट गर्दै केन्द्रबाट अत्यन्त जरुरी पत्र भन्दै पत्र आएको बताइन् ।
नेपाली नागरिकतासँगै यूरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेर आवश्यक अनुसन्धान गर्न भनेको थियो । सोही आधारमा केन्द्रले शिक्षामन्त्री श्रेष्ठलाई पत्राचार गरेर त्यसबारे जवाफ माग गरेको हो ।
पोल्याण्डका नागरिकसँग बिहे गरेकी श्रेष्ठलाई त्यही देशको पीआर लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीमा नागरिकता दुरुपयोग गरेको, दोहोरो नागरिक भएको तथा बैंक खाता खोल्दा दुरुपयोग गरेको आरोप लागेको थियो ।
उनका श्रीमान् पोल्याण्डका नागरिक हुन् । तर, उनले पोल्यण्डका नागरिकसँग बिहे गरेको भएपनि त्यहाँको पीआर नल्याएको प्रष्ट पारेकी छन् । ‘मैले २० वटा जति देश भ्रमण गरेको छु । कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर समेत लिएको छैन । लिने प्रक्रिया के हो त्यो समेत थाहा छैन,’ उनले भनिन्- ‘म जति दिन मन्त्री भएको छु, त्योभन्दा पनि कम समय पोल्याण्ड बसेकी छु । पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने रहेछ । त्यसका विषयमा बुझ्न मलाई १० देखि १५ घण्टा समय लाग्यो,’ उनले भनिन् ।
पीआर लिएको भए प्रमाण दिन सकिने तर, नलिएको कसरी प्रमाण दिने भन्दै उनले उजुरीकर्तालाई नै प्रश्न गरेकी छन् ।
प्रतिक्रिया